
काठमाडौं : लोकरक ब्याण्ड नेपथ्यले देशको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरी तराईका चारवटा शहरको सांगीतिक यात्रा गर्ने भएको छ ।
मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ।
केही समय अघिमात्र काठमाडौं र सिक्किमका दर्शकहरुसामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो ।
मंसिर ४ गते झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।
‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरुलाई हलुका पार्न खोजेका थियौँ’, नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यतिबेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि देशभरका दर्शकहरुसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ ।’
नेपथ्य यात्रा अन्तर्गत सबै ठाँउहरुमा कार्यक्रम बेलुकी पौने ६ बजेदेखि सुरु हुने छ । नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ ।