कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका ४ कासिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए । उनी करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे । द्धन्दको क्रममा ठाउँ-ठाउँमा भिडन्तमा परे ।
सेनामै कार्यरत भईरहेको अवस्थामा धाधिङको चरौंदीमा तत्कालीन माओवादीसंग भिडन्तमा परे । दोहोरो भिडन्तका क्रममा माओवादीले उनलाई कव्जामा लिए ।
हतियार सहित माओवादीको कव्जामा परेपछि उनले ज्यान जोगाउन आत्मसमर्पण गरे । धादिङको तारा दल गणमा कार्यरत उनी माओवादीको नियन्त्रणमा गएपछि छ महिनासम्म सम्पर्क विहिन बने ।
उनी सँग भएको हतियार माओवादीले नै लगे । तत्कालीन माओवादीले उनलाई कारबाही स्वरुपमा ६ महिनासम्म श्रम सिविरमा राख्यो । छ महिनासम्मको लामो पीडा पछि उनी माओवादीको श्रम सिविरबाट रातारात भागेर भारतको काला पहाड पसे ।
भारत गएको दुई बर्ष पछि स्वदेश फर्किए । द्धन्द्धको वेला भारत गएका उनी नेपालमा युद्ध विरामको समयमा घर आएका थिए । द्धन्द्धको समयमा हतियार सहित भागेको भन्दै नेपाली सेनाले उनलाई मुद्दा चलायो ।
मुद्दा चलाएको १५ वर्षपछि उनलाई सैनिक अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको छ । प्रहरीले पक्राउ गरेर उनलाई नेपाली सेनाको हेडक्वाटर पुर्याएसँगै उनी केन्द्रीय कारागार सुन्धारामा छन् ।