एमआरपी मेटेर मनपरी मूल्य



काठमाडौं । सर्वसाधारण भाटभटेनी सुपर मार्केटमा राम्रो र गुणस्तरीय सामान पाइन्छ भन्ने विश्वासले सामान खरिद गर्न पुग्छन् । भाटभटेनीमा सामान खरिद गर्दा ठगिँदैन भन्ने भ्रम पनि छ । तर, सर्वसाधारणको विश्वास जितेको यस सुपर मार्केटले भने कम्पनीले तोकिदिएको अधिकतम मूल्य सूची (एमआरपी) मेटेर मनपरी मूल्य सूची राखेर उपभोक्तालाई सामान बिक्री गर्दे आएको छ ।

कम्पनीले तोकिदिएको एमआरपी मेटेर कम्पनीले तोकेको भन्दा बढी मूल्यमा सामान बेचेर यस मार्केटले उपभोक्ता ठगी गर्दै आएको भेटिएको छ । अनामनगरस्थित भाटभटेनी सुपर मार्केटले पेन्सिलमा तोकिएको एमआरपी मेटेर मनपरी मूल्य राखेको पाइएको हो । भाटभटेनीले एमआरपीमा ७० देखि ८० भारतीय रुपैयाँ एमआरपी तोकिएको पेन्सिलको मूल्य मेटेर १२५ देखि १४५ रुपैयाँसम्ममा बिक्री गर्दै आएको छ । यो उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम गैरकानुनी हो ।

उपभोक्ता संरक्षण ऐनअनुसार वस्तुको मूल्य उत्पादन गर्दा तोकिएको मूल्य, लेबल गराइएको मूल्य एमआरपी आयात प्रज्ञापनपत्रमा तोकिएको मूल्य वा उत्पादनकले स्रोतमै तोकेको मूल्य हुनुपर्छ । भाटभटेनीले उपभोक्ता संरक्षण ऐनको मापदण्डविपरीत एमआरपी हातले मेटेर आफैँ मनपरी मूल्य राखेर ठग्दै आएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले एमआरपी मेटेर मनपरी मूल्य राख्ने जो कोही व्यवसायीलाई पनि उपभोक्ता संरक्षण ऐनबमोजिम कानुनी कारबाही हुने बताए । उनले कुनै पनि व्यवसायीले एमआरपी मेटेर आफँै मनपरी मूल्य राख्न नपाइने बताए । कसैले एमआरपी मेटेर आफैँ मूल्य राखी वस्तुहरू बिक्री गरेको पाइएमा ठाउँका ठाउँ ३ लाख रुपैयाँसम्म जरिमाना गरी कारबाही गर्न सकिने उनको भनाइ छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ मा तत्काल जरिमाना गर्न सक्ने व्यवस्था गरेको छ ।

सो व्यवस्थाअनुसार विभागबाट बजार अनुगमनमा खटिएको निरीक्षण अधिकृतले नै कसुरअनुसार ५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न सक्ने अधिकार छ । निर्देशक भट्टराईले भने, ‘सोही ऐनले दिएको कानुनी अधिकारबमोजिम मापदण्डविपरीत व्यापार व्यवसाय गर्नेलाई विभागले कारबाही गर्दै आएको छ ।’ उनले दसैँअघि विभागको टोली बजार अनुगमन जाँदा भाटभटेनी सुपर मार्केटमै मापदण्डविपरीत व्यापार गरेको पाइएपछि २ लाख रुपैयाँ जरिमाना गरेको जानकारी दिए । उनले यसअघि पनि भाटभटेनीलाई विभागले पटकपटक विभिन्न कसुरमा कारबाही गरेको बताए ।

अझै पनि एमआरपी मेटेर मनपरी मूल्य राखेको छ भने फेरि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐनमा व्यवस्था गरेको कानुनबमोजिम कारबाही हुने निर्देशक भट्टराई बताउँछन् । अनामनगरस्थित भाटभटेनी सुपर मार्केटका शाखा प्रबन्धक सविन्द्र व्यञ्जनकारले पेन्सिलमा एमआरपी मेटेर नयाँ मूल्य राखेर बिक्री गर्न राखेको आफूलाई थाहा नभएको बताए । भाटभटेनीले बिक्री गर्ने सामग्रीमा एमआरपी मेटेर मनपरी मूल्य राखेर बिक्री गरी उपभोक्तालाई ठग्ने काम नगरेको उनले दाबी गरे । भाटभटेनी सुपर मार्केटका विभिन्न ठाउँमा गरी २३ वटा शाखा छन् ।

प्रतिक्रिया दिनुहोस्