सोडारी भन्छन्ः पार्टीको साधारण सदस्यबाट हटाएको जानकारी छैन



कैलाली : मन्त्रिपरिषदमा फेरबदल भएपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा हलचल भएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रीबाट बर्खास्त गर्दै कृष्ण सुवेदीलाइ नियुक्त गरिएपछि विभिन्न टीकाटिप्पणी हुन थालेका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पदीय आचरण र कार्यसम्पादनका कारण सोडारीलाई बर्खास्त गरिएको बताएका छन् भने बर्खास्तीमा परेका सोडारीले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् । 

उनले आफूमाथि लगाइएका आरोप साँचो नभएको बताउँदै आएका छन् । तर पार्टीको निर्णय आफूलाई स्वीकार भएको सोडारीले बताए । बर्खास्त हुनुको कारण जानकारी नगराइए पनि पार्टीको निर्णय सजिलै स्वीकार गर्नुको विकल्प नरहेको उनले बताए । 

मन्त्री पदबाट बर्खास्त गरिँदा सोडारीले आफू गुटबन्दीको सिकार भएको बताएपछि उनलाई पार्टीले साधारण सदस्य पनि नरहने गरी निष्काशन गरेको थियो । त्यसपछि भने मन्त्री सोडारीले पार्टीका सबै निर्णय सजिलै स्वीकार्ने भन्दै आएका छन् । 

पार्टीले गरेको निर्णयले न्याय–अन्याय जे गरे पनि त्यसबारेमा आफूले कुनै टिप्पणी नगर्ने उनले बताए । यद्यपि उनले पार्टीले साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरेको कुरा जानकारी नभएको बताए ।

तर प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले भने पार्टीले सोडारीलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको दाबी गरेका छन् ।

यता नयाँ सामाजिक विकास मन्त्रीलाई सपथ खुवाएका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीको बर्खास्त प्रकरण पदीय आचरण र कार्य सम्पादनसँग जोडिएको बताए । सोडारीले भने आफूलाई पार्टीको साधारण सदस्यबाट हटाइएको जानकारी नआएको स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्