सफल होलान् प्रहरीका पूर्व ‘अफिसर’



काठमाडौं । ६ असोजमा सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरे । पूर्व प्रहरी महानिरीक्षक (आईजी)समेत रहेका खनाल एमाले प्रवेश गरेको १६ दिनमै एमालेबाट टिकट पाउन सफल भए। एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई काठमाडौं क्षेत्र नं.– ६ को टिकट दिएका हुन् ।

४ मङ्सिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विगतमा जस्तै यस पटक पनि सुरक्षा निकायबाट अवकाश पाएका चर्चित व्यक्तिहरू प्रतिस्पर्धामा छन् । देशभर खनालसहित अवकाश पाएका ५ जना पूर्व प्रहरी अधिकारी चुनावी मैदानमा उत्रिएका छन्।

चुनावी प्रतिस्पर्धामा उत्रिनेमा नेपाल प्रहरीका पूर्वआईजीद्वय धुव्रबहादुर प्रधान, खनाल र पूर्वडीआईजीद्वय नवराज सिलवाल, रमेश खरेल तथा सशस्त्र प्रहरी नेपालका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ छन्। प्रधानबाहेक ४ जना काठमाडौं उपत्यकाबाट चुनावी मैदानमा होमिएका छन्।

प्रहरी सङ्गठनमा लामो समय काम गरेर अवकाश जीवन बिताइरहेका उनीहरूमध्ये कोही ठूला पार्टीबाट उम्मेदवार भएका छन् भने कोही साना वा आफैँले खोलेका पार्टीबाट उम्मेदवार भएका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा उनीहरूको राजनीतिक सक्रियता बढेको छ। उनीहरू घरदैलो अभियानमा जुटिसकेका छन् ।

काठमाडौं– ६ प्रधानविरुद्ध खनाल

३ दशक सुरक्षा निकायमा काम गरी आईजी पदबाट अवकाश पाएका खनालसँग सो क्षेत्रमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् । प्रहरी सङ्गठनभित्र व्यावसायिक र कुशल अधिकृतको छवि बनाएका खनालको यो पहिलो चुनावी प्रतिस्पर्धा हो ।

प्रतिस्पर्धी प्रधानलाई सत्तारूढ गठबन्धनको साथ रहेकाले खनाललाई चुनाव जित्न चुनौतीपूर्ण देखिन्छ । तर, खनाल काठमाडौंको व्यवस्थित तथा दिगो विकासका लागि एमालेबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएको बताउँछन् । टिकट पाएपछि खनाल यतिबेला आफ्नो चुनावी अभियानलाई सक्रिय बनाउँदै घरदैलोमा छन् । पछिल्लो समय खनाल विभिन्न समाजिक कामहरूमा समेत सक्रिय छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएका मतको आधारमा काठमाडौं– ६ मा कांग्रेस १७ हजार २७७ मतसहित पहिलो स्थानमा छ । एमालेको १४ हजार ३०३, नेकपा (माओवादी केन्द्र)को २ हजार ४६२, नेकपा (एकीकृत समाजवादी)को १ हजार ८५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार ८१६ मत खसेको थियो ।

यहाँ गठबन्धनको जम्मा मत २१ हजार ५९८ छ । यस क्षेत्रमा एमाले ७ हजार २९५ मतले पछाडि छ । तर, खनाल आफ्नो व्यक्तिगत कारण भोट तान्न सक्ने दाबी गर्छन् । सो क्षेत्र यसअघि २०७४ सालको निर्वाचनमा प्रधानले नै जितेका हुन् ।

पश्चिम नवलपरासी– २
कांग्रेस–एमालेसँग प्रतिस्पर्धामा प्रधान

नेपाल प्रहरीका पूर्वआईजी धु्रवबहादुर प्रधानले पश्चिम नवलपरासी– २ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चुनावी मैदानमा छन् । त्यहाँ कांग्रेसबाट देवेन्द्रराज कँडेल तथा एमालेबाट दीपेन्द्र अधिकारी उनका प्रतिस्पर्धी छन् ।

राप्रपाका बरिष्ठ उपाध्यक्षसमेत रहेका प्रधान करिब २० वर्ष सक्रिय राजनीति गर्दा पनि संसद्मा पुग्न सकेका छैनन् । यसअघि उनलाई एमालेले सहयोग गर्ने बुझिएको थियो तर अन्तिम समयमा आएर प्रधान कांग्रेस–एमालेका उम्मेदवारसँग एकल प्रतिस्पर्धा गर्न पुगेका हुन् ।

यस पटक जसरी पनि प्रत्यक्षतर्फ चुनाव लडेर सांसद बन्ने चक्करमा रहेका प्रधान २०५६ सालको आमनिर्वाचनमा नवलपरासी क्षेत्र नं.– ४ बाट चुनाव लडेका थिए । तर, उनी कँडेलसँग पराजित भएका थिए। २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि त्यहीँबाट चुनाव लडेका उनले सम्मानजनक भोट ल्याए पनि जित हात पार्न सकेनन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी राप्रपा प्रजातान्त्रिकको समानुपातिकतर्फ १ नम्बरमा थिए । तर, पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा माननीय बन्ने प्रधानको सपना अधुरै रह्यो।

यस पटक राप्रपाको पक्षमा जनमत भएकाले सांसद बन्न सकिने उनको सपना छ । प्रहरी सङ्गठनमा इमान्दार छवि बनाएका प्रधान भन्छन्, ‘चुनाव हारे पनि निराश हुन्नँ । चुनाव हार्नुमा विभिन्न पक्ष हुन्छन् तर राजनीतिमा लागेकामा ममा कुनै निराशा छैन । अवकाशपछिको जीवन राजनीतिमा बिताउन पाएकामा खुसी नै छु ।’

ललितपुर– १
राणाका प्रतिस्पर्धी सिलवाल

नेकपा एमालेबाट राजनीति सुरु गरेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नं.–१ बाट चुनावमा लड्दै छन्। यसअघि २०७४ सालको निर्वाचनमा एमाले–माओवादीको गठबन्धनमा सिलवाल सोही क्षेत्रबाट कांग्रेस उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए । तर, अहिले माहोल फेरिए पनि प्रतिस्पर्धी उही छन् ।

सिलवालका प्रतिस्पर्धी छन्– नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री उदयशम्शेर राणा। अघिल्लो चुनावमा सिलवालले ६ हजार २२२ मतान्तरले राणालाई पराजित गरेका थिए। यस पटक एमाले ललितपुर क्षेत्र नं.– १ मा एक्लै चुनावमा होमिएको छ भने कांग्रेसबाट उम्मेदवार रहेका राणालाई सत्ता गठबन्धनको साथ छ। राणा र सिलवालको यो दोस्रो भिडन्त हो ।

यसअघि सिलवालले चुनाव जितेका र अहिले राणालाई गठबन्धनको साथ रहेकाले दुवै जनाको विजययात्रा त्यति सहज देखिँदैन । तर, स्थानीय तह निर्वाचनको मत परिणामअनुसार कांग्रेसको २३ हजार ८५४ र एमालेको १८ हजार ९९३ छ भने माओवादीको ६ हजार ११३ छ । सत्ता गठबन्धनको करिब ३० हजार मत हुँदा एमाले १२ हजारले पछाडि छ । यही मतान्तरलाई हेर्दा सिलवाललाई चुनाव जित्न चुनौतीपूर्ण देखिन्छ।

प्रहरी सङ्गठनमा ३० वर्षे सेवा अवधि पूरा नगरी सिलवालले डीआईजीबाटै अवकाश दिएका थिए । कार्यसम्पादन मूल्याङ्कनमा आफूभन्दा जुनियर तेस्रो वरीयताका जयबहादुर चन्दलाई सरकारले आईजीनियुक्त गरेपछि सिलवालले सर्वोच्च अदालतमा रिट हालेका थिए । १ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकले चन्दलाई आईजीमा नियुक्त गरेको थियो । त्यसपछि चन्दलाई आईजी बनाएको सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदियो । मन्त्रिपरिषद्को निर्णय खारेज भएपछि सरकारले दोस्रो वरीयताका प्रकाश अर्याललाई आईजी नियुक्त गर्‍यो ।

अर्यालको नियुक्तिलाई समेत चुनौती दिँदै सिलवालले पुनः सर्वोच्चमा रिट हाले । तर, २७ भदौ २०७४ मा सर्वोच्च अदालतको पूर्ण इजलासले प्रकाश अर्याल नै वरीयतामा अगाडि रहेका भन्दै सिलवालको रिट नै खारेज गरिदियो । त्यसपछि सिलवालले डीआईजी पदबाटै राजीनामा दिएका हुन् । जतिबेला २०७४ सालको निर्वाचनको पूर्वसन्ध्या थियो, सोही मौकामा सिलवाल एमाले प्रवेश गरेका हुन् ।

काठमाडौं– १
कांग्रेस, एमाले, राप्रपा र रास्वपा उम्मेदवारसँग प्रतिस्पर्धामा खरेल

पूर्वडीआईजी रमेश खरेलको समेत यो पहिलो चुनावी प्रतिस्पर्धा हो । खरेल काठमाडौं क्षेत्र नं.– १ बाट उम्मेदवार भएका छन् । सुशासन पार्टी नेपालका अध्यक्ष रहेका खरेलको मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले, राप्रपा र रास्वपाका उम्मेदवार रहेका छन् ।

नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र रास्वपाबाट पुकार बमले खरेलसँग प्रतिस्पर्धा गर्नेछन् । सङ्गठनमा रहँदा ‘दबङ’ छवि बनाएका खरेललाई चुनावको परिणाम आफ्नो पोल्टामा ल्याउन निकै कठिन छ । खरेल आईजी बन्न नसकेपछि डीआईजीबाटै राजीनामा दिएर राजनीतिमा होमिएका हुन् ।

उनले २४ मङ्सिर २०७८ मा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । पार्टी घोषणा गर्दै खरेलले राजनीतिमा अपराधीकरण र माफियाकरण बढेकाले टुलुटुलु हेरेर बस्न नसकी आफू राजनीतिमा आएको बताएका थिए । तर, काठमाडौंमा खरेलको ‘क्रेज’ रहे पनि पार्टीको सङ्गठन बलियो छैन ।

सङ्गठन नभएकाले बलिया प्रतिस्पर्धी रहेका सिंह, पौडेल र मिश्रलाई पराजित गर्न उनलाई निकै कठिन देखिएको छ । सो क्षेत्रमा यसअघि सिंहले चुनाव जितेका थिए । सिंहसँग राप्रपा उपाध्यक्षसमेत रहेका मिश्र झिनो मतान्तरले पराजित भएका थिए ।

काठमाडौं– ४
पूर्वएआईजी श्रेष्ठका प्रतिस्पर्धी थापा र भट्टराई

ठाकुरमोहन श्रेष्ठ सशस्त्र प्रहरी बल, नेपालका अवकाशप्राप्त एआईजी हुन् । लामो समय सशस्त्र प्रहरी सङ्गठनमा काम गरेका श्रेष्ठ राप्रपाबाट काठमाडौं क्षेत्र नं.– ४ बाट उम्मेदवार भएका छन् । श्रेष्ठ केही समयअघि मात्र राप्रपा प्रवेश गरेका थिए ।

यस क्षेत्रमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेबाट डा. राजन भट्टराई उम्मेदवार छन् । थापा र भट्टराईसँग प्रतिस्पर्धा गर्ने भएपछि पूर्वएआईजी श्रेष्ठले आफ्नो घरदैलो अभियानलाई सक्रिय बनाइरहेका छन् । तर, श्रेष्ठलाई चुनाव जित्न चुनैतीपूर्ण छ किनकि सो क्षेत्रमा २०७४ सालको चुनावमा थापा विजयी भएका थिए।

एमाले नेता भट्टराईलाई एक्लै चुनाव लड्दासमेत पराजित गर्दै जित निकालेका थापालाई यस पटक झनै सत्ता गठबन्धनको साथ छ। त्यसैले भट्टराई र श्रेष्ठलाई भन्दा थापालाई यस पटक पनि जित निकाल्न सहज देखिन्छ।

प्रतिक्रिया दिनुहोस्