कर्णाली सरकारले दण्डहिनतालाई प्रशय दिँदैनः मन्त्री भण्डारी



सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सरकारले कुनै पनि किसिमका दण्डहिनतालाई प्रशय नदिने बताएका छन् । 

समाजको ऐनाका रुपमा रहेका सञ्चारकर्मीहरूले विभिन्न समयमा भयको सामना गर्नुपरेपनि प्रदेश सरकारले निर्भीकताका साथ समाचार सम्पे्रशण गर्न पाउने वातावरण निर्माण गर्नेमा प्रतिबद्ध रहेको बताए । 

पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री भण्डारीले निर्भीकताका साथ यथार्थलाई उजागर गर्न पत्रकारलाई अनुरोध गरे ।

‘कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि तयार छ’ मन्त्री भण्डारीले भने, ‘यसको लागि कर्णाली प्रदेश सरकार क्रियाशील भएर लाग्नेछ, हामीले पत्रकार सुरक्षाका लागि कार्य योजना निर्माण समेत गर्दैछौं ।’

मन्त्री भण्डारीले कर्णालीका पत्रकारलाई खोजमूलक पत्रकारितामा आकर्षण गर्न सरकार लागिपर्ने बताए । ‘पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रुपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ त्यति जोखिम छ’ उनले भने, ‘तपाईँहरूको सुरक्षाका लागि हामी तयार छौँ, तर तपाईँ पत्रकारले पनि प्रदेशलाई समृद्धितिर लैजाने खोजमूलक पत्रकारिता अपनाइदिनुहोस् ।’ मन्त्रालयले ‘पत्रकार स्वास्थ्य बिमा’को व्यवस्था गर्न लागेको उनले जानकारी दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष डम्बर आचार्यले खोजमूलक रिपोटिङ गर्ने पत्रकार जोखिममा रहेको भन्दै सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताए ।

अहिले पनि पत्रकारहरुले सत्य तथ्य पहिल्याउँदा विभिन्न धम्की आउने गरेको भन्दै उनले समाचार लेखेकै आधारमा ज्यान गुमाउनुपर्ने परिस्थितिको अन्त्य गर्न सरकारसमक्ष आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्