
विराटनगर : चिट्ठा पर्यो भन्दै भाईबर र इमोमार्फत ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले बुधबार विराटनगरको रानी स्थित होटल हायातबाट पक्राउ गरेको छ । पक्राउ परेका सबै जना भारतीय नागरिक हुन् ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको फारवीसगन्जका मनोजकुमार ठाकुर, चन्दन कुमार, अमित कुमार, रविन कुमार र भारत जोगवनीका पंकज कुमार रहेका छन् । प्रहरीका अनुसार उनीहरुका साथबाट ५० हजार नेपाली र ३० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका पाँचै जना लामो समयदेखि नेपालमै बसेर भाईबर र इमोमार्फत चिट्ठा परेको छ भन्दै नेपाली नागरिकलाई झुक्क्याएर ठगी गर्ने धन्दामा संलग्न रहेको खुलेको छ ।
भाईबर र इमोमार्फत ठुलो रकम चिट्ठा परेको छ भन्दै चिट्ठा बापतको रकम पाउनका लागि कर बुझाउनु पर्ने भनेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले भाईबर र इमोमार्फत चिट्ठा परेको गलत प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सजग हुन सबैमा आग्रह पनि गरेको छ ।
पक्राउ परेको समूहले चिट्ठा परेको बहाना बनाएर नेपाली नागरिकसँग २७ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । उनले अनुसन्धानकै क्रममा रहेका कारण सबै कुरा खुलाउन नमिल्ने पनि बताए ।