जागिर इँटा भट्टामा, काम गाँजा कारोबार !



मोरङ : मोरङको रंगेली नगरपालिका ३ स्थित चेका भन्ने ठाउँमा रहेको आनन्द इँटा भट्टामा कार्यरत मजदुरले गाँजाको कारोबार गर्ने गरेको पाइएको छ । 

लागू औषध गाँजाको कारोबार गर्दै आएका एक जनालाई प्रहरीले मंगलबार राति ९ बजे पक्राउ गरेको छ । कानुनद्वारा वर्जित गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा इँटा भट्टाका मजदुर भारतीय नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताए । 

उनका अनुसार भारत बंगालकुस विहार घर भई आनन्द इँटा भट्टामा मजदुरको रुपमा काम गर्दै आएका ३० वर्षीय हेमन्त बर्मन अढाई किलोग्राम गाँजा सहित पक्राउ परेका हुन् । 

‘बर्मन केही समयदेखि गाँजाको कारोबार गर्छन् भन्ने सूचना आएको थियो,’ कार्कीले भने, ‘त्यही सूचनाका आधारमा उनी बसेको ठाउँमा छापा मार्ने क्रममा अढाई किलोग्राम गाँजा फेला पर्‍यो ।’ 

नेपालकै पूर्वी पहाडी जिल्लामा अवैध रुपमा उत्पादन हुने गाँजा झिकाएर त्यहाँबाट स–साना पोका बनाएर विक्री गर्ने धन्दामा बर्मनको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

भारततर्फ गाँजा पठाउने धन्दामा पनि उनको संलग्नता रहेको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको कार्कीको भनाइ छ । बर्मन विरुद्ध लागू औषध सम्बन्धी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्