दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला



दाङ । दाङको जंगलमा एक जोडी किशोर-किशोरीको शव गाडिएको अवस्थामा भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव भेटिएको हो ।

भेटिएको शव दमारगाउँकै १५ वर्षीया रोशनी महतारा क्षेत्री र दंगिशरण गाउँपालिका-६ थपगाउँका १४ वर्षीय शरद आचार्यको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

वस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि खोल्डो खोर्सिएर हेर्दा शव देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि फरेन्सिक विज्ञसहितको टोली गएर उत्खनन् गरेर शव निकालिएको डीएसपी मल्लले बताए ।

उनीहरु असोज २७ गते हराएको भन्दै असोज २८ गते प्रहीको निवेदन समेत परेको थियो । गाडिएको अवस्थामा दुई जनाको शव भेटिएकाले हत्याको आशंका गरिएको छ । मृत भेटिएको दुवै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्