चिनियाँ मन्त्रीसँग ओलीले भने– नेपाल समृद्धिको बाटोमा हिँड्न थालिसक्यो



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । 

चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए । 

“समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं” प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उनका परराष्ट्र सल्लाहकार डा।राजन भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण गरेका छन् । 

“हामी एउटै हिमालको वारी पारी बसेका,एउटै हिमालको मूलको पानी खाएका छिमेकी हौँ” प्रधानमन्त्रीले भनेका छन्, “हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।”

चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए । 

गतबर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्