सोखिन सत्यमोहन



काठमाडौं । सुन्दा अचम्म लाग्ला ! नेपाली भाषा, साहित्यको अध्ययन अनुसन्धानबापत ३ पटक मदन पुरस्कार पाएका संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले माछाको विषयमा अनुसन्धनात्मक पुस्तक प्रकाशन गरेर चौथो पटक मदन पुरस्कार पाउने चाहना राख्थे । तथापि, उनको चाहनाकै बीचमा मदन पुरस्कार गुठीले एक जनालाई एक पटकभन्दा बढी पुरस्कार नदिने निर्णय गरेको थियो ।

सत्यमोहनमा माछा सङ्कलनको सोख थियो । तर, त्यो चाहना अब अधुरै रह्यो । लामो समयको अस्वस्थताका कारण आइतबार बिहान उनको निधन भएपछि पुस्तकको सत्यमोहन सपनामा पूर्ण बिराम लागेको छ । उनको पुस्तक प्रकाशनको सपना त पूरा भएन तर माछाको एक्वारियम कक्ष बनाउने उनको योजनालाई उनका हितैषीले पूरा गर्ने तयारी गरिरहेका छन् । नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराम शाक्यका अनुसार जोशीको जग्गामा बनिरहेको नेपाल लोक साहित्य परिषद्को भवनमा जोशी माछाको एक्वारियम बनाउन चाहन्थे ।

‘उहाँले ४०–५० वर्षअघि नै माछापालनको अध्ययन गरेर सङ्कलन गर्नुभएको थियो। उहाँले हामीसँग मैले तेस्रो पटक मदन पुरस्कार पाएँ । माछामा पनि मैले त्यसको अध्ययन, अनुसन्धान र त्यसको खोज नीतिको पुस्तक निकालेको भए त्यसको पनि मदन पुरस्कार पाउँथे होला भन्नुहुन्थ्यो । उहाँ परिषद्को भवनमा एक्वारियमको कक्ष नै बनोस् भन्ने चाहनुहुन्थ्यो’, शाक्यले भने, ‘परिषद्को भवन निर्माणको अन्तिम चरणमा छ ।त्यसको फिनिसिङ गरिरहँदा उहाँले एक्वारियम यहाँ राख्नुपर्छ भनेर हामीलाई ठाउँ पनि देखाउनुभएको थियो । उहाँ जीवित हुँदा इच्छा पूरा त भएन तर अब हामी एक्वारियम बनाएर राख्ने विषयमा छलफल गरी इच्छा पूरा गर्नेछौँ ।’

सत्यमोहनका कान्छा छोरा डा. पूर्णराज जोशी पिताको माछा मोहप्रति बढी जानकार छन् । ६० वर्षअघि पिताले घरमा एक्वारियम राखेको सम्झना उनलाई ताजै छ । ‘उहाँ माछापालनको ठूलो सोखिन हुनुहुन्थ्यो । झण्डै ६० वर्षअघि घरमा धेरै एक्वारियम थिए, जहाँ विभिन्न ट्रोपिकल’ माछा हुन्थे’, जोशी भन्छन्, ‘उहाँको माछा सोख देख्दा हामी छक्क पथ्र्यौं । ती माछाको उहाँले राम्रो स्याहारसुसार गर्नुहुन्थ्यो।’

सत्यमोहनको माछा मोहप्रति ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन पनि जानकार छन् । ‘उहाँ कुशल माछा सङ्कलक हो । त्यसरी माछा सङ्कलन गर्न दत्तचित्त भएर लाग्ने उहाँ जस्तो चानचुने मान्छे मैले देखेको छैन’, महर्जनले भने, ‘सिक्का सङ्कलन, स्ट्याम्प सङ्कलन उहाँको अर्को सोख थियो । विदेशबाट पाएको मेडलको सूक्ष्म अध्ययन गर्नुहुन्थ्यो ।’

नई प्रकाशनका नरेन्द्रराज प्रसाईं सत्यमोहनलाई समयपालकका रूपमा चिन्छन् । उनी यसलाई सत्यमोहनको सोखका रूपमा चित्रण गर्छन् । ‘हाम्रो घडीको सुई प्राविधिक कारणले घटी–बढी होला तर सत्यमोहन दाइको समयमा त्यो घटी–बढी थिएन । उहाँलाई कतै १ बजे बोलाइयो भने ५ मिनेटअघि नै पुग्नुहुन्थ्यो । नेपालमा समयलाई पालना गर्ने कोही छ भने उहाँ नै हुनुहुन्थ्यो’, उनी भन्छन् ।

हिँड्न नथाक्ने

सत्यमोहनले हिँड्नलाई कहिल्यै कञ्जुस्याइँ गरेनन् । उपत्यकामा भएका प्रायः सबै कार्यक्रममा उनी हिँडेरै पुग्थे । शान्तरामका अनुसार अधिकांशले अवकाश जीवन घरमै बिताइरहँदा सत्यमोहन भने अवकासपछिको जीवन अझ सिर्जनशील बनाउन चाहन्थे ।

‘उहाँ बूढेसकाललाई सदुपयोग गर्नुपर्छ भनेर आफूले सक्ने काम गरिरहनुहुन्थ्यो । १०३ वर्ष पुग्दा पनि ठमठम हिँड्नुहुन्थ्यो । उहाँ हिँड्नु नै आयु लम्ब्याउनु हो भन्नुहुन्थ्यो’, शाक्यले सम्झिए । सत्यमोहन ९८ वर्ष पुग्दा उनलाई ललितपुर महानगरपालिकाले गाडीको व्यवस्था गरेको थियो । प्रमुख चिरीबाबुले गाडीको व्यवस्था भए पनि सत्यमोहनले कमै मात्र गाडी चढ्ने गरेको स्मरण गरे।

‘उहाँको हिँड्ने सोख आफैँमा अनौठो थियो । उहाँ हिँड्नुजतिको ठूलो अभ्यास केही छैन भन्नुहुन्थ्यो । उहाँ अति हिँड्न सक्ने र जता जान हिँडेरै जान सक्ने । मोटरसाइकलमा बस्नुहुन्न थियो । कसैले आक्कलझुक्कल गाडीको व्यवस्था गरिदिए भने एउटा कुरा भयो नत्र जहाँ पनि हिँडेरै जाने गर्नुहुन्थ्यो’, चिरीबाबु भन्छन् ।

कुशल सङ्कलक
सत्यमोहन मुद्रा, हुलाक टिकटदेखि विशेषतः लोक संस्कृतिका किताब सङ्कलनमा बढी रुचि राख्थे । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति हरिहर शर्मा आफूले सत्यमोहनलाई लोक संस्कृतिका किताब सङ्लकसँगै उत्कृष्ट नाटक लेखकका रूपमा समेत चिन्ने गरेको बताउँछन्।

‘मैले उहाँले लेखेका धेरै नाटकमा अभिनय गर्ने मौका पाएको छु । उहाँ जिज्ञासु स्वभावको हुनुहुन्थ्यो’, हरिहरले भने, ‘म एक पटक क्यानाडामा संस्कृति विषयको गोष्ठीमा पुगेर फर्किएपछि उहाँले मलाई भेटेर त्यहाँ भएका सबै गतिविधिका बारेमा सूक्ष्म रूपले जानकारी लिनुभयो । नेपालीसँगै विदेशी संस्कृतिमा उहाँको विशेष चासो थियो ।’

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्य जोशीको घरमा हुलाक टिकटको सङ्ग्रहालय नै रहेको बताउँछन् । ‘नेपाल राष्ट्र बैंकको सल्लाहकार समितिमा भएकाले पनि मुद्रामा उहाँको विशेष रुचि थियो’, उनी भन्छन्।

नियमित पिउँथे मदिरा

कुनै दीर्घ रोग नभएका सत्यमोहन जोशी मदिरा नियमित पिउँथे । हरेक दिन बेलुका उनी घरेलु मदिरा पिउँथे । उनकै अनुसार उनलाई रक्सी नखाई निद्रा लाग्दैनथ्यो । ‘मेरो एउटा बानी बसिसकेको छ, बेलुकीचाहिँ एक पेग रक्सी खान्छु । त्यहाँभन्दा धेरै खान्नँ । मिलाएर खायो भने लामो आयुका लागि विष पनि औषधि बन्न सक्छ’, ३ वर्षअघि ललितपुर महानगरपालिकाले आयोजना गरेको जन्म शताब्दी कार्यक्रम उनले भनेका थिए ।

‘जसले रक्सी खानुहुँदैन भन्छ, उसैले रक्सी खान्छ ।’ उनले यसो भन्दा कार्यक्रमका सहभागी खित्का छाडेर हाँसेका थिए । जोशीका आफन्तहरूका अनुसार उनले १ वर्षअघिसम्म हरेक साँझ थोरै भए पनि नियमित मदिरा पिउँथे । स्वास्थ्यमा समस्या आउनुअघिसम्म जोशीले खसीको मासु, भुटन, चिउरा र अन्य खानेकुरा बारेनन् ।

१ वर्षअघि मुटुको समस्या देखिन थालेको पुष्टि भएपछि मदिरा आक्कलझुक्कल मात्र खान थालेका जोशीका भतिजा अजरमान जोशीले जानकारी दिए। ‘मुटुको समस्या देखिएपछि पनि चाडपर्वमा भने सगुनको रूपमा थोरै भए पनि लिनुपर्छ भनेर पिउनुहुन्थ्यो, उहाँको पाचन शक्तिमा खासै समस्या नभएकाले २–४ पिस भए पनि खसीको मासु र भुटन खानुहुन्थ्यो’, उनले भने ।

राष्ट्रिय सम्मानसहित बिदाइ

सरकारले शताब्दी पुरुष जोशीलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ गरेको छ । निधनपछि ललितपुर महानगरपालिका पुर्‍याइएको उनको शवलाई नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । शोक सलामीमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको प्लाटुन र १६ जनाको ब्याण्ड सहभागी थियो । जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए।

अन्तिम बिदाइमा मन्त्रीहरू, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेता वामदेव गौतमलगायतका नेता, कलाकार, साहित्यकार र सर्वसाधारण सहभागी भए । अन्तिम श्रद्धाञ्जलीपछि जोशीको शव उनका परिवारका सदस्य र आफन्तले किस्ट अस्पताललाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्