मोदीले इपिजी प्रतिवेदन बुझ्न ढिलाइ गरे : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं : नेपाल-भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदन बुझ्नमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढिलाइ गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। तर, उनले ढिलै भए पनि भारतीय प्रधानमन्त्री मोदीले उक्त प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका छन्।

 

दुवै देशका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका र राजनीतिज्ञ सम्मिलित प्रबुद्ध समूहको प्रतिवेदन तयार भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यस्तताको कारण देखाउँदै नबुझिरहेको अवस्थमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीको यस्तो धारणा सार्वजनिक भएको हो। 

 

बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले इपिजीको प्रतिवेदनले नेपाल र भारतबीच देखिएका समस्याहरू समाधान गर्न र सम्बन्ध सुधार गर्न महत्त्वपूर्ण उपाय सुझाएको भन्दै मोदीले उक्त प्रतिवेदन बुझ्न ढिलाइ गरे पनि मोदीले उक्त प्रतिवेदन बुझ्नेमा आफू विश्वस्त रहेको बताए। \

 

'प्रतिवेदन बुझ्ने क्रममा अलिकति ढिलाइ भएको देखिन्छ', मन्त्री ज्ञवालीले भने, 'भारतीय पक्षले अहिलेसम्म भनेको प्रधानमन्त्रीज्यू (नरेन्द्र मोदी)को व्यस्तता हो। ठूलो देशका ठूला प्रधानमन्त्रीको व्यस्तता हुने कुरा स्वाभाविक पनि होला, त्यसमा हामीले अन्यथा लिने कुरा भएन।' 

 

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त प्रतिवेदन बुझ्ने कुरातर्फ संकेत गर्दै थपे, 'म पूर्ण विश्वस्त के कुरामा छु भने यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीज्यूले बुझ्नु पनि हुनेछ र दुवै प्रधानमन्त्रीज्यूको नेतृत्वमा यो कार्यान्वयमा पनि जानेछ।' नेपाल र भारतबीच लामो समयदेखिका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीद्वय ओली र मोदीको पहलमा इपिजीको गठन भएको थियो। उक्त समितिले प्रतिवेदन तयार पारेको छ। 

 

नेपालका प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न कुनै बाधा नभए पनि भारतीय पक्ष प्रतिवेदनप्रति असन्तुष्ट रहेको सार्वजनिक भएको छ। प्रतिवेदनमा नेपालको चासो बढी सम्बोधन भएको भारतीय पक्षको आरोप रहेको इपिजीमा रहेका नेपाली प्रतिनिधिले बताउने गरेका छन्, जसका कारण भारतका प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न चासो नदेखाएको नेपाल पक्षको आशंका छ।

 

प्रतिक्रिया दिनुहोस्