१० खेलाडीमा सीमित बार्सिलाेना बराबरीमा राेकियाे



एजेन्सी :  दश खेलाडीमा सीमित बार्सिलोना गिरोनाविरुद्धको खेलमा बराबरीमा रोकिएपछि रियल मड्रिडसँगको अकंदुरी बढाउनबाट चुकेको छ।  स्पेनिस लालिागाअन्तर्गत गएराति आफ्रनै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना गिरोनासँग २–२ को बराबरीमा रोकिएको हो।

 

खेलको १९ मिनेटमा अर्जेन्टाइन फरवार्ड लियोनल मेसीले पहिलो गोल गरेपनि बार्सिलोनाले सुरुवाती अग्रतालाई कायम राख्न सकेन। बरु ३५ मिनेटमा पेरे पोन्सलाई फल गरेपछि डिफेन्डर क्लेमेन्ट लिंगलेटले मैदान छोड्नुपर्यो। रेफ्र गिल मान्जानाेले लिंगलेटलाई राताे कार्ड देखाउनुअघि भिडियाे एसिस्टेन्ट रेफ्री (भिएर) काे सहयाेग लिएका थिए।

 

१० खेलाडीमा सीमित बार्सालाई पाहुना टोली गिरोनाले दबावमा राख्दै पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल गर्न सफल भयो। गिरोनाका लागि उरुग्वेली फरवार्ड क्रिस्थियन स्टुआनीले गोल गरेका थिए।

 

दोस्रो हाफको सुरुवातदेखि नै गिरोनाले आफ्नो प्रभाव कायम राख्यो। स्टुआनीले ५१ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि गिरोनाले २–१ को अग्रता लिन सफल भयो। यद्यपि बार्सिलोना पुनः खेलमा फर्कियो। उसका लागि जेरार्ड पिकेले ६३ मिनेटमा हेड मार्फत बराबरी गोल फर्काए। त्यसपछि कुनै पनि गोल हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका हुन्।

प्रतिक्रिया दिनुहोस्