उम्मेदवारका चुनावी गफ : ‘हिजो भुल्नुस्, भोलिका लागि म छु’



काठमाडौं । आगामी ४ मङ्सिरमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन्।
चुनावी प्रचारका लागि जिल्ला, पालिका र वडास्तरका नेताहरू नागरिकको घरदैलोमा पुगेर भोट माग्न थालेका छन्।

उम्मेदवारको लाइनमा बसेकाहरू त्यसको पैरवी गरिरहेका छन्। कतिपय राजनीतिक दलका शीर्षदेखि केन्द्रीय तहका नेताहरू समेत अहिले चुनाव प्रचारका लागि जिल्लाजिल्लामा पुगिसकेका छन्। उनीहरूले कार्यकर्ता तान्ने र पार्टी प्रवेशलाई जोडतोडले अगाडि बढाइरहेका छन्।

वर्षमा एक पटक पनि आफ्नो जिल्ला नपुग्ने नेताहरू चुनावी माहोलसँगै घोषणापत्र बोकेर अहिले जिल्लामै बसेर कार्यकर्ताहरूसँग चुनाव प्रचारप्रसारमा हिँडिरहेका सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ। चुनाव आउन १ महिना बाँकी रहँदा उम्मेदवारहरू जिल्लामा पुगेर भाषण ठोक्न थालिसकेका छन्।

भाषणको क्रममा आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई समेत गालीगलौज गर्न पछि हटेका छैनन्। अनि, आश्वासनका लामो सूची प्रस्तुत गरिरहेका छन्। यहीँबाट प्रष्ट हुन्छ, निर्वाचनमा उम्मेदवारी दर्ता गराएका नेताहरू व्यापक चुनावी प्रचारमा लागिसकेका छन्। त्यसैले जसरी पनि जित्नै पर्ने मानसिकता भएका नेताहरूको तडकभडक अहिले चर्चामा छ।

भित्री रूपमा हुने पैसोको खोलो बगाइ एकातिर छँदै छ, बाहिरी रूपमा जुलुस, कार्यक्रम, पम्पलेट, घरदैलो अभियान तीव्र बनिरहेको छ। अधिकांश उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रका मतदाता आकर्षित पार्ने नयाँनयाँ ‘स्टन्ट’ अपनाउन थालेका छन्।

गाउँमा पुगेर भाषण ठोक्ने उम्मेदवारलाई केहीले प्रश्न गर्छन्, ‘तपाईंले योभन्दा अघि गरेका आश्वासन त पूरा भएका छैनन् नि ?’ उम्मेदवारको जबाफ हुन्छ, ‘पुराना कुरा छाडिदिनुहोस्, अब नयाँ कुरा गरौँ । अब म यहाँ मोटर गुड्ने पुल बनाइदिन्छु । ठिक छ, म यो काम पनि गरिदिन्छु, त्यो पनि पूरा गरिदिन्छु।’

ठ्याक्कै यस्तै शैलीको भाषण हुन गरेको छ। चुनावी शैलीको भाषणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा अगाडि छन्। प्रधानमन्त्री भइसकेका ओलीको भाषण सुन्दा लाग्छ, १–२ दिनमै यहाँ पुल बन्छ र गाडी गुडिहाल्छ।

ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने र जस्केलाबाट नभई मूल बाटोबाटै सरकारको नेतृत्व गर्ने भनेर सत्तारूढ गठबन्धनलाई हाँक दिइरहेका छन्। संसद्को पहिलो ठूलो दल एमालेको नेतृत्व गरेका ओलीले २ पटकसम्म संसद् विघटन गरेपछि सर्वोच्च अदालतले प्रधानमन्त्रीको कुर्सीबाट हटाइदिएको थियो । त्यस कारण पनि ओली झनै निर्वाचन केन्द्रित भाषणमा अघि बढेका हुन सक्छन् ।

ओली मात्र होइनन्, प्रधानमन्त्री भइसकेका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालको भाषण सुन्दा पनि यस्तै लाग्छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भाषण पनि ठ्याक्कै हुने नै यस्तै हो– कामभन्दा बढी आश्वासन । चाहे बोल्दा होस् वा चाहे नयाँ कुरा देखाएर, गज्जबको शैली देखिन थालेको छ नेताहरूको ।

‘अगाडि पुगेर हुन्छ कि पछाडि पुगेर हुन्छ, यसपालि जित्ने मैले नै हो’ जसरी उनीहरूले गरेको प्रचारबाजी शैलीले अहिले सामाजिक सञ्जालमा लाइक र कमेन्टका साथै आलोचना पनि बटुलिरहेका छन् । तर, कतिपय उम्मेदवारहरू चुनावी स्टन्टकै कारण आलोचनाको पात्र बनेका छन् ।

यही शिलशिलामा आगामी चुनावका लागि भोट माग्नेहरूले घरदैलोमा जाँदा देखाएको गतिविधिले सामाजिक सञ्जालदेखि आममतदातासम्म चर्चित बनेका छन् । नेताहरू जनमानसमा पर्न सक्ने सम्भावित विवादास्पद अभिव्यक्तिलाई लत्याएरै भोट माग्दै हिँडेका छन् ।

टिकट छाडेका नेताहरू समेत सक्रिय

आफैँ उम्मेदवार नबन्दा पनि आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय नेता बिरलै छन् । एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमतिसँग जोडिएका कतिपय नेतालाई टिकट नदिँदा उपाध्यक्ष ज्ञवाली र शाक्यलाई भने उम्मेदवार बन्न आग्रह गरेका थिए । तर, यी २ नेताले आफू चुनावी दौडमा नरहेको बताउँदै टिकट फिर्ता गरे । त्यस्तै, पार्टी विभाजन हुँदासमेत एमालेमै अडिएका पूर्वमाओवादी नेता रामबहादुर थापासमेत चुनावी दौडमा छैनन् ।

त्यसैगरी बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल पनि दौडमा छैनन् । उनीहरू दुवै जनाले समेत आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गरेका छन् । नेकपा (माओवादी केन्द्र)का केही मुख्य नेतासमेत यसपालि चुनावी मैदानमा छैनन् ।

कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र गणेश साहलगायत नेता टिकट नलिई चुनावी प्रचारमा लागेका छन्। तर, टिकट नपाएकै कारण विद्रोह गर्ने र दल नै परिवर्तन गर्ने प्रवृत्ति मौलाएका बेला उम्मेदवार नबनेर पनि चुनावी अभियानमा सक्रिय हुनुलाई भने सकारात्मक मान्न सकिने राजनीतिक विश्लेषकहरूको मत छ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत आफ्नो निर्वाचन क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डलाई उठाएर आफू चुनावमा होमिएका छैनन् । डा. भट्टराईले माओवादीसँग चुनावी सहकार्य गरेर आफ्नो छोरी मानुषी यमी भट्टराईलाई अघि बढाएका छन् । मानुषी काठमाडौं– ७ बाट उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्