भुस्याहा कुकुरको टोकाइबाट २८ जना स्थानीय घाइते



पाल्पा । पाल्पाको माथागढीमा भुस्याहा कुकुरको टोकाइबाट २८ जना स्थानीय घाइते भएका छन् । घाइतेमध्ये २४ जनाकोे तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार दिनभरमा भुस्याहा कुकुरको टोकाइबाट माथागढी गाउँपालिका वडा नं.१, २ र ३ का स्थानीय घाइते भएका थिए ।

उनीहरुमध्ये ४ जनालाई घाँटीदेखि माथिको भागमा टोकेकाले इमिनोग्लोबिन इक्जेन्सन लगाउनुपर्ने अवस्था रहेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए । कुकुरको टोकाइबाट घाइते सबैको उपचार निःशुल्क गरिने उनले बताए ।

२८ जनामध्ये चार जनाको सामान्य उपचारपछि घर फर्किएको माथागढी-३, का अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए । अन्य २४ जनाको मिसन अस्पतालमा रेबिज बिरुद्धको इन्जेक्सन लगाएपछि थप उपचार भइरहेको उनले बताए । भुस्याहा कुकुरले कोहीलाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको वडा अध्यक्ष घर्तीमगरले जानकारी दिए । थप मानिसलाई समेत कुकुरले टोकेको हुन सक्ने भएकाले सम्पर्कमा आउन उनले आग्रह गरे ।

भुस्याहा कुकुरको नियन्त्रणका लागि तत्काल काम सुरु गरिएको पालिकाले जनाएको छ । माथागढीको यस क्षेत्रमा भुस्याहा कुकुर विगविगी रहँदै आएको छ । विगत तीन÷चार वर्षदेखि नै माथागढीको माडी र तानसेनको दमकडा क्षेत्रमा भुस्याहा कुकुरको टोकाइबाट स्थानीय बासिन्दा प्रभावित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्