प्रचण्ड भन्छन्ः ‘पार्टी एकता भयो, मनको बाँकी छ’



म्याग्दी : नेकपा अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी एक भए पनि मनको एकता भइनसकेको बताएका छन् । तल्लो तहमा पनि चाँडै एकता टुंग्याउने उनको भनाइ छ ।

‘हिजो दुई पार्टीले एकले अर्कोलाई सिध्याउनेसम्मको तहमा लडेका कार्यकर्ता भएकाले पार्टी एकता भए पनि मन एकता भइसकेको छैन,’ म्याग्दी भ्रमणमा आएका उनले बुधबार भने, ‘विस्तारै मिल्दै जान्छ । सरकारलाई सफल पार्नु र पार्टी एकतालाई सुदृढ पार्नुको विकल्प छैन ।’

प्रदेश तहमा पार्टी एकता टुंगो लागेको र छिट्टै जिल्ला र स्थानीय तहमा पनि टुंगिने दाहालले दाबी गरे ।

गृहमन्त्री रामबहादुर थापासहित आएका उनले सोमबार म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनुका साथै गलेश्वर धाममा पूजाअर्चनासमेत गरेका थिए ।

तातोपानीमा डुबुल्की मार्दा रोग निको हुन्छ भन्ने पत्नी सीताको इच्छाअनुसार आएको उनले बताए । आफू र गृहमन्त्री थापाको तातोपानी बसाइले प्राकृतिक चिकित्सा पर्यटनमा अर्थपूर्ण सन्देश गएको उनले दाबी गरे ।

बुधबार काठमाडौं फर्कनुअघि आफ्नो तीनदिने बसाइको समीक्षा गरेका दाहालले कर्मचारीतन्त्रका कारण राजनीतिक परिवर्तन संस्थागत गर्न नसकिएको आरोपसमेत लगाए ।

२००७ सालदेखि गणतन्त्र घोषणासम्मका सबै राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरे पनि कर्मचारीतन्त्र फेर्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्