महापुरुषको अन्तर कथा



काठमाडौं । भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकबाट फिल्म ‘महापुरुष’ दर्शकमाझ आउँदै छ। प्रदीप भट्टराई निर्देशित फिल्मले एक विधुर पुरुषको विवाह चाहनालाई उजागर गरेको छ।

फिल्ममा शीर्ष भूमिकामा अभिनेता हरिवंश आचार्य छन् । फिल्मको ट्रेलरमा विवाह गर्न उमेर पुगेको छोराको विवाह गर्ने कुरा भइरहँदा बुवालाई पनि प्रेम र विवाहको इच्छा जागेपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ । यो फिल्मको निर्माणको तयारीमा आफैँमा रोचक छ।

पैसा सकिएपछि फिल्म

निर्देशक प्रदीपका अनुसार घरमा श्रीमतीले बैंकको पैसा सकिएको जानकारी गराएपछि उनी ‘महापुरुष’तिर लागे । ‘साढे ३ वर्षदेखि केही काम गरेको थिइनँ । मेरो रोजीरोटीदेखि छोराको ट्युसन र विद्यालयको शुल्क फिल्मकै कमाइबाट तिर्नुपर्छ । मैले भात पनि फिल्मको पैसाबाहेक अरूबाट खाएको छैन’, प्रदीप भन्छन्, ‘त्यसैले धर्म त राख्नुपर्‍यो भनेर ‘महापुरुष’मा लागेँ । किनकि खाली हात बसेर परिवार पाल्ने अवस्था थिएन ।’

विषयमाथि बहस

निर्देशक प्रदीप र निर्माता रवीन्द्र सिंह बानियाँले फिल्म बनाउने कुरामा सहमति जनाए पनि के विषयमा फिल्म बनाउने भन्ने आपत् आइलाग्यो। ‘थ्रिलर बनाउने कि भनेर थ्रिलरका थुप्रै कन्सेप्टमा वर्कआउट गर्‍यौँ । प्रेमकथालाई कमेडीमा ढालेर रोमान्टिक कमेडी बनाउने कि भन्ने सल्लाह पनि नभएको होइन’, प्रदीप खुले, ‘नेपालमा रोमान्टिक कमेडी फिल्म धेरै बने पनि चित्त बुझ्दा छैनन् । अहिलेका फिल्म हेरेका दर्शकले हलबाहिर निस्किएपछि कथावस्तु बिर्सने समस्या छ । त्यसकारण त्यो भन्दा फरक र सधैँ सम्झने खालको विषयमा फिल्म बनाउने योजना बन्यो ।’

बा आमा सम्झाउन महापुरुष

प्रदीपको अनुभवमा हलबाट निस्किएपछि अधिकांश दर्शकले साथीभाइ र घुम्ने ठाउँ सम्झिन्छन् । तर आफूलाई जन्मदिने बाबुआमा सम्झेको कमै मात्र देखेका छन् । ‘यो फिल्म हेरिसकेपछि दर्शकले घरका बाआमा र बाआमाले पनि छोराछोरी सम्झिऊन् भनेर महापुरुषको कथा बनायौँ’, उनले भने, ‘हामी कम्फर्ट जोनको विषय खोजिरहेका थियौँ । १ महिना स्क्रिप्ट लेख्ने, अर्को २ महिनामा सुटिङ सक्ने र दर्शकमाझ ल्याउने योजना थियो । त्यो काम महापुरुषमा ग¥यौँ ।’

हरिवंशले जुराए नाम

स्क्रिप्टको काम सकिएपछि पहिलो लकडाउनको अघिल्लो दिन निर्माता रवीन्द्र र निर्देशक प्रदीप अभिनेता हरिवंशलाई भेट्न पनौती पुगे । स्क्रिप्ट लेखे पनि ‘नाम’ के राख्ने भन्ने विषयमा उनीहरू अन्योलमा थिए । स्क्रिप्ट पढेपछि त्यहाँको एक संवादलाई आधार बनाएर हरिवंशले ‘महापुरुष’ नाम जुराए । कथाले प्रमुख पात्रलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्ने भएकाले ‘महापुरुष’ राख्न सबै सहमत भए ।

एक्लोपनको कथा

निर्देशक प्रदीपका अनुसार ट्रेलरमा एकल पुरुषको कथा जस्तो देखिए पनि फिल्मले एक्लोपनको कथा बोल्नेछ । ‘विवाह भएको मान्छे पनि एक्लोपनको महसुस गर्छ । घरमा बाआमासँग छोराछोरी हुँदा पनि उनीहरूले एक्लोपन मान्छन् । समाजको गतिशील रफ्तारले कसैले कसैलाई हेर्ने फुर्सद छैन । मायालाई विभिन्न बहानामा निषेध गरेका छौँ । महापुरुष त्यस्तै कथा हो’, प्रदीप खुल्छन् ।

चितवनका वृद्ध कथाको सूत्रधार

निर्माता रवीन्द्र चितवन, देवघाटका एक वृद्धलाई कथाको सूत्रधार मान्छन् । ‘चितवनका पत्रकार एकल सिलवाल मेरो मिल्ने साथी हुन् । उनले देवघाटको एक वृद्धले परिवारबाट भोगेको पीडाबारे मलाई जानकारी गराए। त्यसपछि हामी एकल वृद्धलाई भेट्न गयौँ। छोराछोरी बाहिर बसेर व्यापार व्यवसाय गर्ने भएकाले वृद्ध घरमा एक्लै बस्दारहेछन्। उनको जुठो भाँडा, पूजाको थालीलगायतका भाँडाकुँडा एक महिलाले सफाइ गर्दिरहिछन्। वृद्ध घरमा समय बिताउन एक्लै तास र बाघचाल खेल्दारहेछन्’, रवीन्द्रले सम्झिए, ‘ती महिलासँग गफ गरिरहने भएकाले समाजले वृद्धले महिलासँग अनैतिक काम गरेको आरोप लगाएका छन्। वृद्धले विवाहको कुरा गर्दा उनलाई समाजले मात्तिएको भन्दो रहेछ । उनको रहर र कुरा सुनेपछि काठमाडौं आएर कथा लेख्यौँ । उनले बोलेका केही कुरालाई हामीले संवादमा राखेका छौँ ।’

कथा सुनेपछि ट्वाइलेट गए हरिवंश

हरिवंशका अनुसार जे काम गर्दा पनि उनलाई ‘पीर’ लाग्छ। उनी हास्यव्यङ्ग्य गर्न स्टेज चढ्नुअघि १० पटकभन्दा बढी ट्वाइलेट जाँदा रहेछन् । ‘महापुरुषको कथा सुनेपछि मलाई ट्वाइलेट जान मन लाग्यो । उनीहरूले मलाई विश्वास गरेर कथा सुनाए।

मैले यो भूमिका निर्वाह गर्न सक्छु या सक्दिनँ भन्ने मनमा चिन्ता लाग्यो’, हरिवंश भन्छन्, ‘तर काम त गर्नैपर्छ भन्ने भएपछि आत्मविश्वास बढ्यो। मोबाइलमा संवाद बोकेर म कतिपटक त ट्वाइलेटको कम्बटमा बसेर सेल्फी भिडियो खिच्दै बोलेको छु । यो फिल्मको डबिङका क्रममा कुनै कुनै संवादमा आँखा रसाएको छ।’

अरुण र अञ्जनाको डेब्यू
‘महापुरुष’बाट अरुण क्षेत्री र अञ्जना बराइलीले फिल्मी अभिनयमा ‘डेब्यू’ गर्दै छन् । बाल्यकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवंशलाई टेलिभिजन र फिल्ममा हेरेर हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिकामा अभिनय गरेका छन् । दुवै जना अडिसन मार्फत छानिएका हुन् ।

जापानबाट अभिनयमा भविष्य देखेर नेपाल फर्किएका अरुणले निर्देशक प्रदीप भट्टराईसँग काम गर्ने योजना बनाइरहँदा उनले ‘महापुरुष’बाट डेब्यूको अवसर पाएका हुन्। मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना र केही भिडियोमा अभिनय गरेका अरुण दिग्गज कलाकारसँग सहकार्य गर्न पाउँदा खुसी छन् । फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्