खेलाडीको मृत्युपछि स्थगित प्याराग्लाइडिङ उडान आजदेखि खुला



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।

प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए ।

प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने शर्त राखेको छ ।

त्यस्तै, प्राधिकरणले व्यवसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने उल्लेख गरेको छ । प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त राखेको छ ।

असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । दुर्घटनापछि तत्कालै बसेको प्राधिकरणको बैठकले देशैभरि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्