प्रदेशका प्रतिस्पर्धीबीच सङ्घमा जुहारी



गोरखा । २ वटा प्रतिनिधिसभा क्षेत्र रहेको गोरखा-१ लाई चुनावी रौनकले छोपेको छ । सङ्घ र प्रदेशका उम्मेदवारहरू मतदाता भेट्न गाउँगाउँ पुगेका छन् । चुनाव आउन महिना दिन पनि बाँकी नरहँदा उम्मेदवारहरू गाउँगाउँ छिरेर भोट माग्न व्यस्त रहेका हुन् ।

४ मङ्सिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा गोरखा-१ मा विशेषगरी सत्ता गठबन्धन दल र नेकपा एमालेबीच नै चुनावी घम्साघम्सी हुने देखिन्छ । त्यसो त गोरखामा गएका निर्वाचनहरूको मत परिणामअनुसार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) नै प्रमुख शक्ति मानिन्छन् ।

यी दुवै शक्ति अहिले एकै ठाउँमा उभिँदा तेस्रो शक्ति एमालेलाई प्रतिस्पर्धीका रूपमा लिन नहुने तर्क गर्नेको समेत कमी छैन । तर, गठबन्धनका उम्मेदवारहरू भने एमालेलाई नै मुख्य प्रतिस्पर्धीका रूपमा लिएर चुनावी अभियानमा होमिएका छन् । गोरखा-१ मा प्रतिनिधिसभा सदस्यका लागि १० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि, मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच हुनेछ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईं र एमालेका तर्फबाट रामशरण बस्नेत चुनावी मैदानमा छन् ।

उनीहरू अघिल्लो २०७४ सालको निर्वाचनमा प्रदेशमा प्रतिस्पर्धा गरेका थिए । यसअघि प्रदेश क्षेत्रमा आमनेसामने भएका यी २ जना यस निर्वाचनमा सङ्घमा प्रतिस्पर्धा गर्दै छन् । गत निर्वाचनमा प्रदेशसभामा बस्नेतसँग पराजित भएका बजगाईं यस पटक भने गठबन्धनको बलमा सङ्घीय क्षेत्र हत्याउने दाउमा छन् ।

२०७४ सालको चुनावमा गोरखा-१ (ख)को प्रदेशसभा सदस्यको रूपमा प्रतिस्पर्धा गर्दा त्यतिबेला माओवादीको समर्थन पाएका बस्नेत निर्वाचित भएका थिए भने यस पटक माओवादीको समर्थन बजगाईंलाई छ। २०७४ सालमा वाम गठबन्धनको बलमा प्रदेश जितेका बस्नेतलाई सङ्घमा जित्न भने फलामको चिउरा चपाउनु सरह देखिन्छ ।
गोरखामा एमालेको तुलनामा कांग्रेसको सङ्गठन बलियो छ । तर, माओवादी केन्द्रसँँग वाम गठबन्धन गरेका कारण एमालेका बस्नेत त्यतिबेला १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार १ मत पाएका थिए । यस पटक माओवादीको समर्थन भएका कारण बजगाईं चुनाव जितिनेमा आशावादी छन् ।

गत ३० वैशाखको स्थानीय तहको चुनावमा पाएको मतका आधारमा गोरखामा माओवादी केन्द्र र कांग्रेसको मत उस्तैउस्तै छ । तर, एमालेको निकै कम मत छ । गत स्थानीय निर्वाचनको मत परिणाम हेर्दा गोरखामा एमाले तेस्रो, नेपाल समाजवादी पार्टी चौथो दलको रूपमा स्थापित छन् भने अन्य दलहरूको जनमत गोरखामा कम नै देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा गठबन्धनले ५५ हजार मत प्राप्त गर्दा एमालेले १४ हजार मत मात्र प्राप्त गरेको छ । स्थानीय तहको प्राप्त गरेको मत तुलना गर्दा गठबन्धन तेब्बर मतले अघि छ । त्यस आधारमा हेर्दा सत्तारूढ गठबन्धनका उम्मेदवार बनेका बजगाईंको जित सुनिश्चित जस्तै देखिन्छ । यस कारण पनि बजगाईं आफ्नो पक्षमा परिणाम आउनेमा ढुक्क छन् ।

गोरखा-१ मा १ लाख १५ हजार ३९७ मतदाता छन् । गोरखा-१ अन्तर्गत गोरखा नगरपालिकाका १ देखि ७ सम्मका वडा र गण्डकी, चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा र शहीद लखन गाउँपालिका पर्छन् ।

को हुन् राजेन्द्र बजगाईं ?

बजगाईं सफल पर्यटन व्यवसायी हुन् । उनी जिल्लामा कम र काठमाडौंमा धेरै बस्छन् । पर्यटन व्यवसायमा बजगाईं अन्तर्राष्ट्रिय स्तरमा नै चिर परिचित व्यक्ति हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित उनी केन्द्रीय सदस्यमा भने पराजित भए ।

‘२०७४ सालमा वाम गठबन्धन थियो, अहिले वाम गठबन्धनको मूल अङ्ग माओवादी कांग्रेससँगको चुनावी तालमेलमा छ’, उनले तर्क गरे, ‘२०७४ सालमा वाम गठबन्धनले पनि हार बेहोर्नुप¥यो तर त्यसबेला कांग्रेमा खसेको समानुपातिक मतको तुलनामा ३७ प्रतिशत बढी लोकप्रिय मत प्राप्त गरेको थिएँ ।’

परिचित भूगोल र गठबन्धनको बलमा चुनाव जित्ने बजगाईंले बताए । बूढीगण्डकी जलाशयको कार्यान्वयन, विकट भूगोलका बृहत्तर विकास, उत्तरी क्षेत्र पुग्ने सडकको विकासलगायतलाई मुख्य मुद्दा बनाएर आफू जनतामाझ जाने उनको भनाइ छ ।
काठमाडौं बसेरै पनि देशको पर्यटन व्यवसायमा ठूलो योगदान दिइरहेको दाबी गर्दै बजगाईंले समग्र गोरखाका लागि धेरै काम गरेको दाबी गरे । सडक सञ्जालले नजोडिएको उत्तरी गोरखाका बिरामीलाई हेलिकोप्टर सेवा दिन होस् या काठमाडौंमा उपचार नपाएर अस्पतालमा बिचल्ली भएका नागरिकलाई सहायता गर्न, बजगाईंले दिलदेखि सहयोग गरिरहेका स्थानीय बताउँछन् ।

गठबन्धनबाट उम्मेदवार बनेका बजगाईं प्रतिस्पर्धी पुरानै हुनुलाई सहज ठान्छन् । उत्तरी गोरखाको भूगोल आफूले राम्रोसँग बुझेको र विकट भूगोलमा आकस्मिक हवाई उद्धारमा वर्षौंदेखि सहयोग पु¥याएको बताउँदै बजगाईंले भने, ‘गोरखाली जनतामा म लोकप्रियसमेत भइसकेको छु ।’

को हुन् रामशरण बस्नेत ?

बस्नेतको राजनीतिक पृष्ठभूमि हेर्दा स्थानीय तहसँग उनको सम्पर्क पुरानो देखिए पनि संसदीय चुनावको हिसाबकिताबमा उनको जितभन्दा हारको सङ्ख्या धेरै छ । बस्नेत २०४९ र २०५४ साल गरी २ पटकसम्म तत्कालीन नारेश्वर गाविस अध्यक्ष भए । त्यस्तै, २०५५ सालमा जिल्ला विकास समिति सभापति बनेका थिए ।

२०५६ सालको आमनिर्वाचनमा गोरखा-१ मा उनी कांग्रेस नेता चिरञ्जीवी वाग्लेसँग पराजित भए । २०७० सालको संविधानसभा निर्वाचनमा गोरखा-१ बाट तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका बस्नेत २०७४ सालको चुनावपछि गण्डकी प्रदेश सरकारका मन्त्री भए ।

२०७४ सालको निर्वाचनमा गोरखा-१ (ख)बाट अहिलेका प्रतिस्पर्धी बजगाईंलाई नै हराउँदै उनी सांसद हुँदै मन्त्री बनेका हुन् । बस्नेत बजगाईंलाई हराएर गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भए । तर, मन्त्री हुँदा उनको कार्यकाल औसतमा ठिकै मात्र रहेको बताइन्छ ।

चुनावको मिति घोषणा गर्नुअघि मात्र बस्नेतले आफ्नो खेत नजिकै सडक नजोडिएको तर मोटरेबल पुल बनाउन बजेट विनियोजन गरेर पुल बनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी मिडियाको नजरमा परे । बस्नेतले गण्डकी प्रदेशको मन्त्री हुँदा गोरखामा उल्लेख्य विकासका कामहरू सोचेअनुरूप गर्न नसकेका आलोचना भइरहन्छ ।

तर पनि राजनीतिमा विगतको अङ्कगणित र विगतको मत परिणाम हेरेर चुनावको हार–जितको आँकलन गर्नु स्वाभाविक नहुने बस्नेत बताउँछन् । उनी थप्छन्, ‘निर्वाचन भनेको जनताको ताजा मत सर्वेक्षणको प्रक्रिया हो । विगतमा के थियो ? भन्दा पनि जनताको पक्षमा कसले कति काम गरेको छ ? भन्ने कुरालाई हेरेर हार-जितको आँकलन गर्नुपर्छ ।’

यद्यपि, अङ्कगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहना, गठबन्धनप्रतिको वितृष्णा र एमालेले गरेका जनपक्षीय कामका आधारमा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्