२ वर्षपछि नाफामा निगम



काठमाडौं । नेपाल आयल निगम झण्डै २ वर्षपछि नाफामा गएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि १५ दिनमा निगमले ३९ करोड रुपैयाँ नाफा कमाएको हो । आर्थिक २०७१/०७२ देखि नाफा कमाउँदै आएको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुन थालेपछि २०७७ पुस महिनादेखि निरन्तर घाटा आएको थियो । भदौ महिना मासिक ९६ करोड ४८ लाख रुपैयाँ घाटा बेहोरिरहेको निगम महिनाबाट नाफा आएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा निगमले स्थानीय बजारमा मूल्य नघटाई पेट्रोलियम पदार्थको कारोबार गर्दा निगम असोजबाट पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनमा नाफा भएको हो । १५ दिनको पेट्रोलियम पदार्थको कारोबार गर्दा ३९ करोड रुपैयाँ नाफा भएको थियो । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ नोभेम्बरमा निगमलाई पठाएको नयाँ मूल्य बढेर आएको हुँदा निगमको १५ दिनको नाफा ३९ करोडबाट तल झरी १८ करोड रुपैयाँ पुग्ने निगमले जनाएको छ ।

निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यमा एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ८० पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ८० पैसा बढेको छ । यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ९१ रुपैयाँ घटेर आएको छ । निगमका आपूर्ति वितरणका निर्देशक वीरेन्द्र गोइतले आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हुँदा निगम फेरि घाटामा जाने अवस्था देखिएको बताए ।

निर्वाचन नजिकिएका कारण पेट्रोलियम पदार्थको खपत निकै बढ्ने र नयाँ मूल्य बढेर आएकाले निगमलाई पछिल्लो समय भएको केही नाफा पनि घाटा जाने देखिएको उनको भनाइ छ । यसैगरी चिसो मौसममा डिजेल खपत बढ्ने हुँदा पनि घाटा बढ्ने उनले बताए । उनले डिजेल र खाना पकाउने एलपी ग्यासमा निगम घाटामा नै रहेको हुँदा निगमको आर्थिक भार कम नभएको उनको भनाइ छ ।

निर्देशक गोइतका अनुसार नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ९१ रुपैयाँ घटेर आए पनि निगमलाई ग्यासमा २२८ रुपैयाँ घाटा छ । यसैगरी डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ५० पैसा घाटा छ । समग्रमा, पछिल्लो २ महिनामा निगमको नाफा देखिए पनि डिजेल र एलपी ग्यासमा निगम घाटामै रहेको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । उनले पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ९५ पैसा नाफा भए पनि डिजेल र एलपी ग्यास घाटामै रहेका बताए ।

‘डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ५० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २२८ रुपैयाँ घाटा छ’, निर्देशक साहले भने, ‘पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनमा नाफा देखिए पनि डिजेल र एलपी ग्यासमा घाटा नै रहेको हुँदा इण्डियन आयल कर्पाेरसनको २२ अर्ब बक्यौता निगमले तिर्न बाँकी नै छ । सरकारको ७ अर्ब ऋण तिर्न बाँकी छ । पेट्रोलबाट नाफा र खपत भने कम छ ।’

उनका अनुसार डिजेल कुल पेट्रोलियम पदार्थको ६० प्रतिशत खपत छ । पेट्रोल र हवाई इन्धनमा मात्र नाफा देखिए पनि डिजेल नाफामा नआउँदासम्म निगमलाई आर्थिक ठूलो भार भइरहने उनको भनाइ छ । सरकारले पेट्रोलियम पदार्थको कर घटाएर मूल्य समायोजन गरी पूर्वाधारबापत लिइँदै आएको कर निगमलाई घाटाको शोधभर्नाका लागि उपलब्ध गराउने भनेको १० रुपैयाँ निगमले जेठ महिनाको २० दिनको २९ करोड रुपैयाँ मात्र पाएको उनले बताए ।\

उनले असारसम्मको पूर्वाधारबापत लिइँदै आएको १० रुपैयाँ करको १ अर्ब ९२ करोड रुपैयाँ बाँकी नै रहेको जनाए । साउन महिनामा पूर्वाधारबापत लिइँदै आएको कर निगमलाई घाटाको शोधभर्नाका लागि उपलब्ध गराउने भनेको १० रुपैयाँ कर सरकारले लिई नै रहेको हुँदा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि निगमको घाटा नघटेको उनको भनाइ छ । निगमका अनुसार दैनिक पेट्रोल २२ हजार किलोलिटर र डिजेल ४ हजार ४५० किलोलिटर खपत हुन्छ । निर्वाचनमा सो खपत करिब १५ प्रतिशत बढ्ने निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्