निर्वाचनमा विप्लव समूह चुनौती !



काठमाडौं । यसअघिका सबैजसो निर्वाचनमा कुनै न कुनै समूहले सुरक्षा ‘थ्रेट’ दिइरहे । आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुनौती बन्ने खतरा भएको आँकलन निर्वाचन आयोग र सुरक्षा निकायको छ ।

यसअघि २०७४ सालको चुनावमा पनि विप्लव समूहले चुनाव बिथोल्ने प्रयास गरेको थियो । सोहीअनुरूप विप्लव नेतृत्वको नेकपाको हालै सम्पन्न महाधिवेशनले निर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको हो । चुनाव खारेजी अभियानलाई राज्यले दमन गरे प्रतिरोध गरिने विप्लव समूहको चेतावनी छ ।

निर्वाचनको विरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभा आयोजना गरी निर्वाचनमा भाग नलिन जनतालाई अपिल गर्दै विप्लव समूहले चुनाव खारेज अभियानलाई सहयोग पुग्ने गरी केन्द्रीय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारको गलत रवैयाका कारण चुनाव खारेजीको नीति लिनुपरेको बताउँदै नेकपाले आगामी मङ्सिरमा हुने चुनावमा जो मान्छे सबैभन्दा भ्रष्ट छन्, तिनै मान्छेहरूले आफ्ना चुनावी घोषणापत्रमा सम्पत्तिको छनबिन गर्ने कुरा गरिरहेका उल्लेख गर्दै यो जनतालाई मूर्ख बनाउने कुरा भएको दाबी गरेको छ ।

नेकपाको निर्णयसँगै निर्वाचन आयोगले समेत चुनौती हुने आशङ्का व्यक्त गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेरै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए ।

‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो तर त्यसो नभएपछि सुरक्षा निकायसँग गम्भीर छलफल गरेका छौँ । सुरक्षा रणनीति परिमार्जन गरेका छौँ’, पत्रकार सम्मेलनमा उनले भने, ‘यातायातमा आवश्यक निर्णय गर्छौं । नियमित र अनुशासित रूपमा चलाउने अन्तर्राष्ट्रिय अभ्यास छ । व्यवस्थित रूपमा केही साधन चल्नेगरी आयोगले लजिकल निर्णय गर्छ ।’

यता, ४ वटै सुरक्षा निकायले पनि विप्लव समूह निर्वाचनमा चुनौती बन्न सक्ने विश्लेषण गरेको छ । २ वर्षअघि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेतृत्वको नेकपा अहिले सडकमा पुगेको छ । विप्लवले घोषित रूपमै निर्वाचनमा अवरोध गर्ने बताएपछि सुरक्षा चुनौती थपिएको हो ।

गृहमन्त्री बालकृष्ण खाणले विप्लव समूहप्रति लक्षित गर्दै निर्वाचन बिथोल्ने अधिकार कोही कसैलाई नभएको बताएका छन् । बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै खाणले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दललाई भए पनि निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका हुन् ।

वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको उनले बताए । सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने खाणको भनाइ छ ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा विप्लव नेकपाबाट कुनै पनि सुरक्षा चुनौती थिएन । सोहीअनुरूप प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने अपेक्षा गरिएको थियो । तर, निर्वाचन बहिष्कार गर्ने विप्लव नेकपाको निर्णयसँगै ४ वटै निकायका सुरक्षाकर्मीमाथि चुनौती थपिएको हो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सुरक्षाको मुख्य चुनौती नेकपालाई ठहर गरे पनि कारबाहीका स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेका छन् । यसअघि विभिन्न मुद्दामा पक्राउ गरिएका ३०० भन्दा बढी विप्लवका कार्यकर्तालाई प्रहरीले राजनीतिक दबाबमा ‘निःशर्त’ छाड्नुपरेपछि अहिले कुन मोडलमा जाने भन्ने विषयमा प्रहरी नेतृत्व नै रुमल्लिएका छन् ।

विप्लव समूहको चुनौतीपछि सो समूहका पछिल्ला गतिविधिका कारण प्रहरी परिचालनमा व्यापकता दिनुपर्ने निष्कर्षमा प्रहरी मुख्यालय पुगेको छ । विप्लव समूहको चुनावी सुरक्षाको मुख्य चुनौतीबारे ७ वटै प्रदेश प्रहरी कार्यालयले मुख्यालयमा रिपोर्ट गरिसकेको अवस्था छ ।

विप्लवको फेरिएको कार्यशैलीपछि प्रहरीले आफ्नो रणनीतिसमेत परिवर्तन गरेको प्रहरी मुख्यालय स्रोत बताउँछ । विप्लव नेकपाले हाल हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा चुनावमा भौतिक कारबाहीसम्म योजना बनाएको रिपोर्ट प्रहरीको विशेष इन्टेलिजेन्स ब्युरोले पाएको छ ।

नेपालको एक मात्र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को गोप्य रिपोर्टमा उपत्यकाका बौद्ध, कपन, बालाजुको फुटुङ, नागढुङ्गा, थानकोट, बलम्बु र साँघुलगायतका स्थानहरूमा विप्लव कार्यकर्ताका जमात छन् । उनीहरूलाई प्रहरीको इन्टेलिजेन्स ब्युरोले खोजिरहे पनि भेट्न सकिरहेको छैन ।

विप्लवको कार्यविधि मान्छे मार्ने नरहे पनि तर्साएर भए पनि चुनाव बिथोल्नेसम्म रहेको बुझाइ प्रहरीको छ । प्रहरीको गोप्य प्रतिवेदनअनुसार विप्लवका कार्यकर्ताले यस पटक सबै बुथमा नभएर केही विकट पहाडी जिल्लाका निर्वाचन बुथमा बम विस्फोट गराउने योजना बनाएको बुझिएको छ ।

प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहलाई विप्लव समूहप्रति कस्तो कारबाही चलाउने विषयमा यकिन नीति बनाउन गृहमन्त्री खाणले निर्देशनसमेत दिइसकेको गृह स्रोत बताउँछ । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले उक्त समूहमाथि निगरानी राख्ने काम गरिसकेको छ ।

यता, नेपाल प्रहरीका प्रवक्ता एवं नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले निर्वाचन बहिष्कार गर्न खोज्ने तŒवले विभिन्न उपायहरूमार्फत चुनाव बिथोल्ने क्रियाकलापहरूबारे प्रहरीले निगरानी गरिरहेको बताए । ‘कोही कसैले चुनाव बिथोल्ने प्रयास गरे तत्कालै नियन्त्रणमा लिएर कारबाही गरिहाल्छौँ’, उनले भने ।

प्रवक्ता राईले कसैलाई सुरक्षा थ्रेट भएको महसुस भए जिल्ला सुरक्षा समितिमा जानकारी गराएपछि सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने जानकारी दिए । अहिलेसम्म त्यस्तो कुनै जानकारीसमेत नआएको प्रहरीको दाबी छ ।

यसअघि वैशाखमा भएको स्थानीय तहको निर्वाचनसमेत शान्तिपूर्ण ढङ्गले सम्पन्न गरिसकेको अवस्थामा आउँदो प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन पनि सोहीअनुसार शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा विश्वस्त रहेको प्रवक्ता राईको बुझाइ छ । उनले भने, ‘आवश्यक निर्देशन सबै प्रहरी युनिटहरूलाई दिइसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्