‘४ मङ्सिरपछि हेरौँला…’



काठमाडौं । आगामी ४ मङ्सिरको चुनावको विषयलाई लिएर पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’बीच जुहारी नै चलेको छ । एकअर्काले उछितो काड्ने गरेका छन् । दुवै जनाले ‘४ मङ्सिरपछि हेरौँला’ भन्दै चुनौती दिने गरेका छन्।

जबकि यी २ जना कुनै समय काँधमा काँध जोडेर अँगालो मारेर आफूहरूबीच कुनै विवाद नभएको जस्तो प्रचार गरिदिन्थे। त्यसैले भनिन्छ– राजनीतिमा कोही पनि स्थायी शत्रु र परम्मित्र हुँदैन । यो नेपाली आहान ओली र प्रचण्डबीचको सम्बन्धमा ठ्याक्कै मिल्छ।

माओवादी सशस्त्र विद्रोहसँगै ओली कुनैबेला माओवादीको कटु आलोचक थिए। उनले प्रचण्डलाई कटाक्ष गरिरहन्थे। नेताहरूमध्ये प्रचण्डलाई सबैभन्दा बोली र व्यवहारले प्रहार गर्ने ओली नै थिए । त्यस्तै, प्रचण्डले पनि ओलीको जबाफलाई ‘पुग्नेगरी’ नै आरोपको खण्डन गर्न पछि हट्दैनथे।

२०७४ सालको चुनावमा एमाले र माओवादी वाम गठबन्धन बनाएर अगाडि बढे। चुनावी तालमेलपछि ओली र प्रचण्डको आरोप–प्रत्यारोप मिलनका रूपमा परिणत भयो । सम्बन्ध सुधार हुँदै गयो । त्यतिबेला उनीहरू एकअर्काले दुवैलाई भोट मागे। यसलाई धेरैले आश्चर्य माने । गठबन्धन बनाएर चुनाव लड्दा ओली र प्रचण्ड दुवैले सफलता हासिल पनि गरे।

चुनावपछि उनीहरूले एमाले र माओवादी एकता गरी नेकपा बनाए । ३ जेठ २०७५ मा पार्टी एकतापछि ‘एउटै जेटका २ पाइलट’ बने । एकअर्काबिना बाँच्नै नसक्नेगरी उनीहरू ‘गहिरो लभ’मा परे । दुवैले शक्ति बाँडफाँट गरे । आलोपालो प्रधानमन्त्री बन्ने सहमति नै गरे। तर, ओली प्रधानमन्त्री भएको २ वर्षपछि विवाद चुलिन थाल्यो ।

दुवै एकअर्काविरुद्ध खनिँदै गर्दा नेकपा विभाजनसम्म पुग्यो । ओली र प्रचण्डबीच पानी बाराबारको अवस्थासम्म बन्यो । यी २ नेतामा आएको उतारचढावपूर्ण सम्बन्ध अहिलेसम्म पनि कायम छ । आगामी मङ्सिरमा हुन गइरहेको चुनाव आउन मात्र १३ दिन बाँकी छ । देशैभर चुनावी माहोल तातिरहेका बेला उनीहरू एकअर्काविरुद्ध खनिइरहेका छन् । चुनावी भाषण गर्ने क्रममा ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई विभिन्न आरोप लगाइरहेका छन् ।

अहिले ओली प्रचण्डलाई कुनै हालतमा सिध्याउने गरी लागेका देखिन्छ। त्यस्तै, प्रचण्ड पनि ओलीका कटु आलोचकका रूपमा प्रस्तुत हुन थालेका छन्। दुवै जनाले आगामी चुनाव जितेर प्रधानमन्त्री बन्न चुनौती दिएका छन् । उनीहरूको यस्तो आरोप–प्रत्यारोपले राष्ट्रिय राजनीतिमा भने तरङ्ग छाएको छ।

ओलीले पटकपटक प्रचण्डले आगामी चुनाव नजित्ने दाबी गर्दै आइरहेका छन्। यसअघि आफूहरूले जिताइदिएको सांसद सङ्ख्या गनेर प्रचण्डले संसद्मा फुर्ति गरेको आरोप लगाउँदै ओलीले आगामी चुनाव प्रचण्डले कुनै पनि हालतमा नजित्ने दाबी गरेका हुन्।

‘जुँगामा त आफ्नो पो ताउ लाउनुपर्छ । अर्काले टाँसिदिया’ जुँगा । हामीले टाँसिदिएका, संसद्मा जुन फुर्तीफार्ती गर्दै छन्, यति जना भनेर होलान्, २० जना, २२ जना होलान् । त्यो हामीले टाँसिदिएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । प्रचण्डले अब जितेर देखाउन् त ?’, चुनौती दिँदै ओलीले आरोप लगाइरहेका छन् ।

त्यस्तै, प्रचडले समेत आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न ओलीलाई चुनौती दिँदै आइरहेका छन् । यसअघि ओलीलाई २÷२ पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिने गरेका छन् ।

२०७४ सालको संङ्घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाका तर्फबाट ओली प्रधानमन्त्री भएका प्रचण्डको भनाइ छ । उनले ओलीलाई प्रतिगमनकारी भनेर चित्रण गर्ने गरेका छन्। ओलीप्रति लक्षित गर्दै प्रचण्डले प्रतिगमनकारी शक्तिहरू बलिया हुँदा परिवर्तन र देश दुवै खतरामा पर्ने बताउँदै आइरहेका छन् ।
ओली देशका लागि खतरनाक पात्र भएकाले उनलाई परास्त नगरेसम्म देश उँभो नलाग्ने भन्दै प्रचण्ड आरोपमा उत्रिने गरेका छन् । ‘नेपालमा कुनै मधेसविरोधी पार्टी छ भने त्यो एमाले मात्र हो । केपी ओली १ नम्बर खतरनाक मान्छे हो । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन्’, प्रचण्डले मधेस प्रदेशमा आयोजित एक कार्यक्रममा भनेका थिए ।

यसरी कुनैबेलाका सहयात्री अहिले आरोप–प्रत्यारोपमा उत्रिन थालेपछि एमालेका अन्य नेताहरू माओवादी–प्रचण्डविरुद्ध र माओवादीका अन्य नेताहरू एमाले–ओलीविरुद्ध खनिन थालेका छन् । शीर्ष नेताहरूको यस्तो गालीको शिलशिला दिनहुँ चलिरहेकै छ । यस पटकको चुनावमा यो गति झन बढेको छ ।

ओली झापा– ५ बाट र प्रचण्ड गोरखा– २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावमा होमिएका छन् । उनीहरू दुवै जनाले चुनावी भाषणका क्रममा दिने अभिव्यक्तिले एकअर्कालाई चुनाव जित्न नदिने रणनीतिहरू चालेका प्रष्ट हुन्छ ।

दिनहुँ हुने चुनावी सभामा उनीहरू एकअर्काविरुद्ध तथानामको स्थितिमा उत्रिएसँगै जनतासामु आश्वासनको पोको बाँड्न भने छाडेका छैनन्। ओली अहिले पनि नेपाललाई सिंगापुर बनाउने जस्ता भाषण गर्दै हिँड्छन् भने प्रचण्ड देशका लागि आफू चाहिने र अब गोरखामा विकासको लहर छाउने भन्दै भाषण गर्न छाडेका छैनन्।

विगतका आश्वासनहरू पूरा गर्न नसकेपछि अहिले उनीहरू जनताको ध्यान मोड्न यस्ता आलोचनाको सहारा लिनुपर्ने अवस्थामा पुगेका हुन् । विगतमा सिंगापुर बनाउँछु, रेल, पानीजहाज र विकासको लहर फैलिने भन्दै अनेकन नारामा भोट मागेका थिए । ती नारा बिकाउ हुन छाडे पनि उनीहरूले विभिन्न आश्वासन देखाउँदै भोट माग्न भने छाडेका छैनन्।

उनीहरूको यस्तो आरोप–प्रत्यारोप चुनावी भाषणमा मात्र होइन, संसद्मा समेत चल्ने गरेको थियो । कुनैबेला संसद्मै ओलीले माओवादीलाई बाँदरको सङ्ज्ञा दिएका थिए भने प्रचण्डले पनि ओलीलाई महाराजको सङ्ज्ञा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्