व्यावसायिक भिसामा कडाइ



काठमाडौं । सरकारले विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरेको छ। विदेशी लगानी प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि सरकारले व्यावसायिक भिसामा दिँदै आएको सुविधामा कडाइ गरेको हो।

यसअघि विभागले विदेशी लगानी प्रतिबद्धता गरेको १ वर्षसम्मका लागि व्यावसायिक भिसा दिँदै आएको थियो। १ वर्षको अवधिमा भिसा मात्र थप गर्दै आएको देखिएको तर लगानी नभित्रिएको हुँदा व्यावसायिक भिसामा कडाइ गरेको विभागका विदेशी लगानी शाखा तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले जानकारी दिए।

आगामी दिनमा कुनै पनि विदेशी नागरिकले व्यावसायिक भिसा लिई दुरुपयोग नगरून् भन्ने उद्देश्यले नै भिसामा शर्त तोकिएको उनले बताए। विभागले तोकिएको शर्त पूरा नभए भिसा थप नहुने उनको भनाइ छ।

उनका अनुसार अबदेखि विदेशी लगानी स्वीकृत भएको पहिलो पटक ३ महिनाका लागि व्यावसायिक भिसा सिफारिस गरिनेछ। अर्कोपटक आवेदन गर्दा अनिवार्य रूपमा कम्पनी दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने छ । यही १८ कात्तिकदेखि लागू हुने गरी सो निर्णय भएको निर्देशक धामीले जानकारी दिए।

उनले व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकले भिसाको उद्देश्यविपरीतका गतिविधि गर्न सक्ने भएको हुँदा व्यावसायिक भिसा सिफारिस गर्ने कार्यलाई व्यवस्थित र मर्यादित बनाउन विभागले सो निर्णय गरेको उनको भनाइ छ।

लगानी प्रतिबद्धता हुने तर सो अनुसार उद्योग क्षेत्रमा लगानी नभित्रिएको उनको भनाइ छ। प्रतिबद्धता अनुसार लगानी नआएकै कारण व्यावसायिक भिसामा शर्तसहित कडाइ गरेको उनले जानकारी दिए।

निर्देशक धामीले भने, ‘विदेशी नागरिकले लगानीका लागि उद्योग दर्ता गर्छन्। तर, तोकिएको समयावधिमा लगानी भित्र्याएको पाइँदैन।’ त्यसकारण पनि जिम्मेवार र तोकेबमोजिमको कार्य अगाडि बढाउन विभागले भिसामा कडाइ गरेको उनले बताए।

यस्तै कम्पनी दर्ताको प्रमाणपत्र पेस भएमा थप ३ महिनाको व्यावसायिक भिसा दिइनेछ। भिसा सिफारिसका लागि अर्को पटक आवेदन गर्दा कर कार्यालयमा दर्ता भएको, बैंक खाता खोलेको र उद्योग दर्ता गरेको वा उद्योग दर्ताका लागि आवेदन दर्ता गरेको प्रगति विवरण पेस गर्ने शर्त राखी भिसा सिफारिस गर्ने निर्णय गरेको छ।

उद्योग दर्ता प्रमाणपत्र पेस भएमा थप ६ महिनाको भिसा सिफारिस गर्ने वा उद्योग दर्ताको सम्बन्धमा भएको प्रगति विवरण सन्तोषजनक भएमा थप ३ महिनाका लागि व्यावसायिक भिसा सिफारिस गर्ने व्यवस्था सरकारले गरेको छ। सो अवधिमा उद्योग दर्ता गरे विदेशी लगानीको प्रक्रिया शुरु गर्नुपर्ने शर्त राखी भिसा सिफारिस गर्ने भएको छ।

विदेशी लगानी स्वीकृति लिई लगानीकर्ताकै रूपमा व्यावसायिक भिसामा बसी साविकको भिसा सिफारिस गर्दाको शर्त पूरा नगरी पुनः नयाँ विदेशी लगानी स्वीकृतिका लागि आवेदन गरेमा निजको विदेशी लगानी स्वीकृत गरिनेछ । तर, प्रस्तावित विदेशी लगानी नभित्र्याएसम्म स्वीकृत नयाँ विदेशी लगानीको आधारमा पुनः व्यावसायिक भिसा सिफारिस नहुने निर्देशक धामीले जानकारी दिए।

उनले विदेशी लगानी तथा हस्तान्तरण नियमावली, २०७७ को नियम ९ बमोजिमको लगानी भित्र्याएपछि मात्र थप व्यावसायिक भिसा दिइने बताए। नेपाल सरकारले विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा निजको प्रतिनिधिका परिवारका सदस्यलाई विदेशी लगानी स्वीकृत भएपछि लगानीका आधारमा उद्योग विभागबाट एकल बिन्दु सेवा केन्द्रमा व्यावसायिक भिसा सिफारिस गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्