गहुँ र मकैलाई मल पर्याप्त



काठमाडौं । गहुँ र मकै बालीलाई रासायनिक मल अभाव नहुने भएको छ। सरकारले रासायनिक मल खरिदका लागि ३१ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेपछि गहुँ र मकै बालीलाई रासायनिक मल पर्याप्त हुने देखिएको हो।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा रासायनिक मललाई १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि हुँदा १५ अर्ब रुपैयाँ बजेट अभाव हुने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई थप बजेट माग गरेको थियो।

कृषि मन्त्रालयको थप बजेट माग गर्दा अर्थ मन्त्रालयले मल खरिदका लागि थप १६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको हो। अर्थ मन्त्रालयले थप गरेको १६ अर्ब रुपैयाँ र बजेट वक्तव्यमा विनियोजन गरेको १५ अर्ब रुपैयाँ गरी ३१ अर्ब रुपैयाँ मल खरिदलाई बजेट सुनिश्चित भएको हो । उक्त बजेटले ३ लाख २४ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिद हुन्छ।

मल खरिदका लागि ३१ अर्ब बजेट सुनिश्चित हुँदा ३ लाख २४ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिद हुने हुँदा गहुँ र मकैलाई मलको अभाव नहुने कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए। तर, गत वर्षको तुलनामा रासायनिक मल खरिदका लागि बजेट २ गुणाले बजेट बढे पनि धान बालीलाई आवश्यक पर्ने मल खरिदका लागि सो बजेट अझै अपुग हुने उनले बताए।

कृषकको मागअनुसार धान बालीलाई सहज रूपमा रासायनिक मल आपूर्ति गर्न करिब ४० अर्ब रुपैयाँ बजेटको आवश्यकता पर्ने प्रवक्ता सन्जेलको भनाइ छ। उनले भने, ‘यस पटक रासायनिक मल खरिदका लागि ३१ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुँदा गहुँ र मकै बालीलाई मलको समस्या हुँदैन। धानबालीका लागि भने अभाव हुने देखिन्छ।’

अमेरिकी डलरको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य विगतको तुलनामा दोब्बर भएको हुँदा ३१ अर्ब रुपैयाँ मल खरिदलाई बजेट सुनिश्चित हुँदा पनि अभाव हुने देखिएको प्रवक्ता सन्जेलले जानकारी दिए। धान बालीका लागि रासायनिक मलको सहज आपूर्तिका लागि थप १० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने उनले बताए।

धान बालीका लागि मलको सहज आपूर्ति गर्न अर्थ मन्त्रालयसँग थप १० अर्ब रुपैयाँ बजेट माग गर्ने उनले बताए। जसका लागि अर्थ मन्त्रालयले पनि सकारात्मक नै रहेको उनको भनाइ छ।
कृषि मन्त्रालयका अनुसार ६६ हजार ४८७ मेट्रिक टक मल मौज्दात छ। जसमा युरिया २२ हजार १७३ दशमलब ४५ मेट्रिक टन, डीएपी ४० हजार २९७ मेट्रिक टन र ४ हजार १६ मेट्रिक टन पोटास मौज्दात छ। सरकारले भारत सरकारसँग सरकार–सरकारबीच रासयनिक मल खरिद गर्न ५ वर्षका लागि गत १६ फागुनमा सम्झौता गरेको थियो। उक्त सम्झौताका आधारमा ३० हजार मेट्रिक टन रासायनिक मल कात्तिकको अन्तिममा आइपुग्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्