आत्महत्या प्रयासबारे प्रकाश दुतराजको प्रस्टीकरण : केही छिन हराउनु मर्नु हैन नि !



काठमाडौं । गायक प्रकाश दुतराजले आफूले आत्महत्याको प्रयास गरेको भन्ने खबर झुटो भएको बताएका छन्। कन्सर्टका लागि अस्ट्रेलियामा रहेका दुतराजले आत्महत्याको प्रयास गरेको भन्दै समाचारहरु प्रकाशित भएका थिए।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै दुतराजले आफू केही छिन हराउँदा त्यसलाई मर्न खोजेको भनेर प्रचार भएको भन्दै गुनासो गरेका छन्। गलत बुझाइ तथा सूचनाको आधारमा आफूले आत्महत्याको प्रयास गरेको भन्ने समाचार फैलिएको पनि दुतराजको भनाइ छ।

‘कहिलेकाहिँ हराइदिन्छु, यसै यसै। कहिले हरियाली पाखा पखेरी, उकाली-ओराली चौतारी अनि देउरालीहरुसँगै। कहिँ उजाड बगर, मरुभूमिहरुसँगै बालुवा झैं उडिदिन्छु। कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराइमा पुर्‍याइ डुबाइदिन्छन्,’ दुतराजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौसम्म आफैंलाई थुनिदिन्छु। हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन। यसलाई रोग भनु या मेरो विशेषता। यहि कारण पनि म आफूले आफैलाई दुखी बनाउँछु। धेरै समाचारहरु हेरेँ, पढे अलिक अप्ठ्यारो असजिलो महसुस गरे। म केही छिन हराउनु म मर्नु हैन नि!’

आफूले आत्महत्या गर्न खोजेको समाचार प्रकाशित भएको समाचार आएपछि आमाले फोन गरेर चिन्ता व्यक्त गरेको दुतराजले उल्लेख गरेका छन्। ‘बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो। सानो दु:खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरुलाई। माया गर्नेहरुको आँसुले सराप्छ। कसरी मार्न सक्थे र यो शरीरलाई,’ दुतराजले लेखेका छन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्