राष्ट्रपति निवास माथिबाट हेलिकोप्टर उडानमा रोक



काठमाडौं : सरकारले राष्ट्रपति निवास लगायतका सुरक्षा निकायका मुख्यालय माथिबाट हेलिकोप्टर उडानमा रोक लगाएको छ ।

सुरक्षा संवदेनशील क्षेत्र मानिएका ठाउँमा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउँदै नयाँ १२ वटा रुट निर्धारण गरेको छ । शितल निवास हुँदै केही हेलिकोप्टरले उडान गरेको उजुरी आएपछि यो रुटलार्इ सधैका लागि प्रतिबन्ध लगाइएको हो ।

यसअघि राजतन्त्र रहेका बेला नारायणहिटी राजदरबारमाथिबाट हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइन्थ्यो । अब नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको मुख्यालय माथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन ।

प्राधिकरणले रुट निर्धारण गर्दा कान्ति बाल अस्पताल, त्रिभुवन शिक्षण अस्पताल र अमेरिकी दूतावासलार्इ समेत बाहिर राखिएको छ।

नयाँ रुट निर्धारण गर्दा ठूला जहाज उडान अवतरणलार्इ समेत ध्यान दिइएको छ । प्राधिकरणका अनुसार नयाँ रुट संचालनमा आएपछि ठूला जहाजनै आकाशमा होल्ड गर्नुपर्ने अवस्था न्यून हुनेछ । प्राधिकरणका अनुसार फिक्स्ड विङ र रोटर विङको फ्रिक्वेन्सी एउटै हुँदा एयर ट्राफिक कन्ट्रोल टावरमा कम्युनिकेसन समस्या हुँदै आएको छ ।

कम्युनिकेसनमा समस्या भएकै कारण प्रत्येक जहाज स्टार्ट गरेको आधा घण्टापछि मात्र उड्ने गरेको विमानस्थल स्रोतले बतायो । जहाजको इन्धन र समय वचत गर्ने उद्धेश्यले हलिकोप्टरको लागि छुट्टै रुट तयार गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तयार पारेको नयाँ रुटमा १५ दिन परीक्षण उडान हुनेछ । हेलिकोप्टरको परीक्षण उडान भएपछि रुट कार्यान्वयनमा आउने हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए ।

उनका अनुसार नयाँ रुटमा हेलिकोप्टर संचालनमा आउनेवित्तिकै जहाज होल्डको समस्या ३३ प्रतिशत कम हुनेछ । 

प्रतिक्रिया दिनुहोस्