प्रत्येक महिना ७ वटा बलात्कारका घटना : अधिकांश वृद्धा र किशोरी



सुर्खेत : कर्णालीमा केही वर्षयता बलात्कारका घटनाले अप्रत्याशित रूप लिएको छ । यस्ता अधिकांश मुद्दा गाउँघरमै मिलाउने गरेको पाइएको छ । पीडितहरुको पहुँच प्रहरीसम्म कमै मात्रामा पुग्ने गरेको छ ।

पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेसँगै यस्ता घटना पनि बढेको देखिएको प्रहरीको बुझाइ छ ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशका १० जिल्लामा ६१ वटा बलात्कार तथा यौनहिंसाका घटना दर्ता भएका थिए । चालु आर्थिक वर्षको अघिल्लो चार महिनामै ४४ वटा मुद्दा प्रहरीसमक्ष आइपुगेका छन् ।

दर्ता भएका घटनामध्ये अधिकांशमा प्रहरीले अभियुक्तलाई अदालतसमक्ष पुर्‍याइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहनविक्रम आचार्य बताउँछन् ।

‘तथ्यांक अचाक्ली बढेको छ । सचेतना र पीडा सहनु हुन्न भन्ने कुरा मानिसमा बढ्दै छ,’ एसएसपी आचार्यले भने । प्रदेश प्रहरी कार्यालयअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै सुर्खेतमा बलात्कारका घटना दर्ता भएका छन् ।

सुर्खेतमा २४, जुम्लामा ५, पश्चिमरुकुम र कालिकोटमा ४/४ वटा बलात्कारजन्य घटना दर्ता भएका छन् । यस्तै जाजरकोटमा ३, सल्यानमा २ र दैलेख २ वटा घटना दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रहरीकहाँ दर्ता भएका घटनालाई मात्र आधार मान्ने हो भने कर्णालीमा प्रत्येक महिनामा सरदर ७ जना महिला तथा किशोरी बलात्कृत हुने गर्छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकले गत आर्थिक वर्षदेखि हालसम्म १ सय १६ महिनाको अवधिमा १ सय ५ वटा बलात्कारका घटना दर्ता भएको देखाएको छ । प्रहरीका अनुसार बलात्कारको शिकार हुने अधिकांश किशोरी र वृद्धा नै छन् ।

‘विगतमा पनि यस्ता घटना हुन्थे, यो कुरा अपराध हो । प्रतिकार गर्नुपर्छ भन्ने नजानेर पनि प्रहरीसमक्ष आउँदैनथे’, एसएसपी आचार्यले भने, ‘अहिले देशमा बलात्कारविरुद्धको आन्दोलनका प्रभावकै कारण पनि पीडितहरु सीधै प्रहरीसमक्ष आउने गरेको पाइन्छ । चेतनाका कारण पनि तथ्यांकमा वृद्धि भएको हुन सक्छ । तर बलात्कारका घटनामा पनि वृद्धि भने भएको देखिन्छ ।’

तथ्यांक हेर्दा सुरक्षा र चेतनाको हिसाबले सबैभन्दा अगाडि देखिएको कर्णाली प्रदेशको राजधानीमै बलात्कारका घटनामा बढी भएको देखिन्छ ।

गत आर्थिक वर्षमा मात्रै सुर्खेतमा २३ वटा बलात्कारका घटना भए । यस्तै गत आर्थिक वर्षमा सल्यानमा ११ वटा, दैलेख ८, रुकुम पश्चिममा ९, जाजरकोट ४, कालिकोट २, जुम्ला २ र मुगुमा २ वटा बलात्कारका घटना भएका थिए ।

गत आर्थिक वर्षमा भएका ६१ वटा बलात्कारका घटनामा संलग्न ६१ वटै अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रदेश प्रहरी कार्यालयको दाबी छ । चालु् आर्थिक वर्षका घटनामा पनि ८० प्रतिशत अभियुक्त प्रहरीको दायरामा आइपुगेको कर्णाली प्रदेश प्रहरी दाबी गर्छ ।

प्रतिक्रिया दिनुहोस्