गीत गाउने तर ‘जित’ नगाउनेहरू



काठमाडौं । व्यावसायिक रूपमा राम्रो पारिश्रमिक लिएर गीत गाउने गायक/गायिकालाई त्यही ‘राम्रो पारिश्रमिक’ दिएर गीत गाउने अफर आउँदा गीत गाउन को अघि नसर्ला ?
माया–प्रेम, वियोग, देशभक्तिका गीत गाइरहेका गायक÷गायिकालाई पार्टीको चुनावी गीतको प्रस्ताव आउँदा भने उनीहरू मौन मात्र छैनन्, पछाडि नै सरेका छन् ।

पार्टीको सांस्कृतिक फाँटमा आवद्ध गायक/गायिका, गीतकार तथा सङ्गीतकार पार्टीको चुनावी प्रचार सामग्री बनाएर भोट माग्न व्यस्त भइरहँदा केही गायक/गायिकाले भने पार्टीको गायन प्रस्तावलाई अस्वीकार गरेका छन् । उनीहरूको साझा धारणा छ– पार्टीको होइन, देशको गीत गाउँछौँ । गायक सत्यराज आचार्य देशलाई ‘नेपाली जनता पार्टी’, २ करोड ९१ लाख जनसङ्ख्यालाई पार्टीका सदस्य र चन्द्र–सूर्य अङ्कित झण्डालाई साझा झण्डा मान्छन् ।

‘मेरालागि देश नै एउटा सिङ्गो पार्टी हो । म देशका लागि गीत गाउन जहिल्यै तयार छु तर पार्टीका लागि कहिल्यै तयार भइनँ’, सत्य भन्छन्, ‘मलाई यस पटक पार्टीगत रूपमा केहीले गीत गाउन प्रस्ताव गर्नुभएको थियो । म व्यक्तिगत रूपमा कलाकार हुँ । मैले पार्टी–पार्टीको गीत गाउन मिल्दैन किनकि पार्टीको गीत गाउँदा ट्याग लाग्ने डर हुन्छ । मेरो सबै नेतासँग राम्रो सम्बन्ध छ । यस कारण मैले कांग्रेसको गीत गाइदिएँ भने कम्युनिस्ट तथा अन्य पार्टीले मलाई ‘कांग्रेसी’को ट्याग लगाउँछन् ।’

निर्वाचन आयोगले गीत गाउने प्रस्ताव गरेको खण्डमा त्यो गीत गाउन सत्यराज तयार छन् । ‘निर्वाचन आयोग भनेको सरकार हो । निर्वाचन आयोगबाट प्रस्ताव आएको भए म गाउँथेँ किनकि उसका प्रचार सामाग्री सन्देशमूलक हुन्छन्’, उनी भन्छन् । सत्यराजको बुझाइमा पार्टीको गीत गाउनु भनेको त्यसको प्रत्यक्ष असर श्रोता र दर्शकमा पुग्नु हो ।

‘मैले कुनै पार्टीको गीत गाएँ भने ममाथि जनमानसले ‘यो पार्टीको मान्छे हो कि क्या हो !’, ‘पार्टीबाट परिचालित छ कि क्या हो !’ जस्ता आक्षेप लगाउन सक्छन्, जुन कुरा म होस् भन्ने चाहन्नँ’, सत्यको प्रष्टीकरण छ। गायिका आस्था राउत पनि सत्यराजको कुरामा सहमत छन् । उनी आफूलाई देशको गीत गाउने गायिकाका रूपमा चिनाउन चाहन्छिन् ।

‘म चुनावको गीत गाउने कलाकार होइन । पार्टी विशेषको पनि होइन। म देशको कलाकार हुँ, देशको गीत गाउँछु। मलाई धेरै दलबाट चुनावको गीत गाइदिन अफर आएको थियो तर अस्वीकार गरें’, आस्था भन्छिन्, ‘म पार्टी विशेषलाई भन्दा पनि देशलाई माया गर्ने नेतृत्वलाई मनपराउँछु। म पार्टीलाई भन्दा पनि देशलाई माया गर्ने मान्छेको खोजीमा छु। पार्टीसँग मेरो आग्रह, पूर्वाग्रह छैन।’

रचना रिमाल छोटो समयमा नै नेपाली साङ्गीतिक क्षेत्रमा उल्लेख्य प्रगति गर्ने पछिल्लो पुस्ताकी गायिका हुन् । रोचक कुरा के छ भने, उनले अहिलेसम्म चुनावी गीत त गाइनन् नै, मतदाता परिचयपत्र पनि बनाएकी छैनन्।

‘मलाई चुनावको गीत गाइदिन विभिन्न पार्टीबाट अफर पनि आएको हो तर म त्यस्तो गीत गाउन असमर्थ रहेँ। म कुनै पनि पार्टीमा आबद्ध छैन। एउटा पार्टीको गीत गाउँदा ‘यो पार्टीकी गायिका रहिछ’ भन्ने भान श्रोता तथा दर्शकमा हुन्छ। उहाँहरूले राम्रै पारिश्रमिक दिने प्रस्ताव गर्नुभएको हो’, रचनाले भनिन्, ‘तर, अहिलेसम्म मैले पार्टीका चुनावी गीत गाएको छैन । मैले त मतदाता परिचयपत्र पनि बनाएकी छैन किनकी कसलाई भोट हाल्ने भन्ने ममा आत्मविश्वास पनि छैन ।’

गायक युवराज चौँलागाईंलाई माओवादी, स्वतन्त्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी)लगायतका दलबाट चुनावी गीत गाउन अफर नआएको होइन । गीत गाउँदा पार्टीको ट्याग लाग्ला कि भन्ने उनलाई उत्तिकै डर थियो ।

‘हामी स्वतन्त्र मानव हौँ । स्वतन्त्र रूपमा बोल्न पाउँछौँ । कलाकार भएकाले सबै पार्टी, वर्ग, क्षेत्रको कुरा समेटेर बोल्न सक्छौँ । समान व्यवहारले हेर्छौं र उनीहरूले पनि समान व्यवहारले हामीलाई हेर्छन्’, युवराज भन्छन्, ‘कुन पार्टीलाई भोट हाल्ने भन्ने आस्था हुन्छ तर आस्था भयो भन्दैमा पार्टीकै गीत गाउनचाहिँ म असमर्थ छु । कलाकार भइसकेपछि सबैको प्यारो भएर बस्नु नै उचित हुन्छ जस्तो लागेर मैले गीत गाइनँ ।’

युवराजका अनुसार अहिलेसम्म उनले पार्टीका गीत गाएका छैनन् र गाउने सोचेका पनि छैनन् । ‘मैले नराम्रो सोच र नियतले भनेको होइन । म अहिले सबैको हुँ । मैले एउटा पार्टीको सोच्नुभन्दा सबैको नजिक हुन चाहन्छु । मेरालागि सबै पार्टी समान हुन्’, उनी भन्छन् ।

गायिका सुनिता दुलालले अहिलेसम्म निर्वाचन आयोगको मात्र गीत गाएकी छन् । तर, पार्टीगत गीत भने कहिल्यै गाएकी छैनन् । ‘गीत गाउने अफरचाहिँ आउँछ तर कहिले समय मिल्दैन, कहिले के मिल्दैन । निर्वाचन आयोगको चाहिँ धेरै वर्षअघिदेखि गाएकी छु । तर, चुनावी गीत गाउन चासो छैन’, सुनिता भन्छिन्, ‘गीत गाउँदा पार्टीको ट्याग लाग्ला भन्ने डर भन्दा पनि चुनावी गीत गाउन रुचि नभएर नगाएकी हो’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्