सिनेमाघर एपमा शुक्रबारदेखि कबड्डी ४



काठमाडौं । नेपाली फिल्मको इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को शुक्रबार (आज) देखि सिनेमाघर एपमार्फत डिजिटल प्रिमियर हुने भएको छ। बिहीबार राजधानीमा एप र फिल्म टिमले पत्रकार सम्मेलन गर्दै फिल्म सिनेमाघर एपमा विज्ञापनरहित सःशुल्क र विज्ञापनसहित निःशुल्क हेर्न पाइने जानकारी दिएका हुन् ।

निर्देशक गुरुङले चाहेर पनि हलमा फिल्म हेर्न नपाएका दर्शकका लागि लक्षित गरी डिजिटल रिलिज गर्न लागेको बताए। ‘नेपाली फिल्मको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,’ उनले भने, ‘एउटा सर्जकले व्यावसायिक पक्ष पनि हेर्छ र आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरून् भन्ने चाहना हुन्छ। त्यसैले हामीले कबड्डी ४ लाई सिनेमाघर एपमार्फत डिजिटल प्रदर्शन गर्न लागेका हौँ।’

सिनेमाघरका सञ्चालकमध्ये एक अभिनेता खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे। ‘अब युट्युबभन्दा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने समय आएको छ। युट्युबमा फिल्म रिलिज गर्ने चलन पुरानो हो । त्यसले नेपाली फिल्मलाई फाइदा पनि गर्दैन’, उनले भने, ‘युट्युबमा धेरै दर्शकले त हेर्लान्, तर पैसा एकदमै कम आउँछ । अहिले सिनेमाघर निर्मातालाई युट्युबभन्दा धेरै रेभिन्यू दिन सक्ने अवस्थामा पुगिसकेको छ।’

उनले फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाइ गरेको उल्लेख गर्दै २/३ वर्षमा सिनेमाघर एपले निर्मातालाई लगानीको ४०/४५ प्रतिशतसम्म फिर्ता गर्न सक्ने विश्वास व्यक्त गरे। सिनेमाघर एपका टेक्निकल अफिसर सञ्जीव ढकालले सबै प्रकारका मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसमा पनि हेर्न सकिने खुलाए।

‘सिनेमाघर एपमा उपलब्ध फिल्म नेपालका प्रायः सबै डिजिटल वालेट र विदेशबाट पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिनेछ’, उनले भने । चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले नेपालमा डिजिटल प्लेटफर्मको विकास हुनु सुखद् कुरा रहेको बताउँदै यस्ता प्लेटफर्मलाई सहयोग गर्न राज्यसँगै बोर्ड पनि तयार रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्