काठमाडौं : महानगरपालिकाका कर्मचारी कार्यालयमा हाजिर गरेर टाप कस्ने (हाटा) गरेको पाइएको छ। सेवाग्राहीले कर्मचारी कुर्सीमा नभेटिएको गुनासो गरेपछि महानगरपालिका प्रशासनले छड्के अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।
हाटा कस्नेमा अधिकृतदेखि सहायकस्तरका कर्मचारी छन् । ‘हामीले आइतबार दिउँसो छड्के अनुगमन गरेका थियौं,’ महानगरका सहसचिव टोकराज पाण्डेले भने, ‘बिहान हाजिर गरेकामध्ये झन्डै २५ प्रतिशत कर्मचारी दिउँसो कुर्सीमा भेटिएनन् ।’
उनका अनुसार विभिन्न विभाग, सचिवालय, महाशाखा, शाखा, एकाइ र आयोजनामा अनुगमन गरिएको थियो । आइतबार बिहान ३ सय २२ जना कर्मचारीले हाजिर गरेको तर दिउँसो ३ बजे अनुगमन गर्दा हाजिर गरेका मध्ये ६९ जना कर्मचारी कुर्सीमा भेटिएनन् ।
पाण्डेका अनुसार २४ जना अधिकृतस्तरका कर्मचारी कार्यालय समय नपुगीकन भागेको पाइयो । हाटा कस्नेमा मिडिया शाखाका कर्मचारी बढी थिए । मिडिया शाखा (मेट्रो एफएम) का १४ कर्मचारी हाजिर गरेर भागेको पाइयो।
समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।