स्वास्थ्य समितिका सांसदलाई एसएमएस: चिकित्सा शिक्षा विधेयक कहिले पास हुन्छ ?



काठमाडौं : ‘नमस्कार माननियज्यू, चिकित्सा शिक्षा विधेयक संसदबाट कहिले पारित हुन्छ ? जवाफका लागि अग्रिम धन्यवाद ।’

सांसद खगराज अधिकारीको मोवाइलमा अपरिचित मोवाइलबाट यस्तो एसएमएस आयो । लगत्तै सांसद अधिकारीले जबाफ फर्काए, ‘को हुनुहुन्छ ?’

‘एक आम नागरिक, जो चिकित्सा शिक्षा सुधारको निम्ति निरन्तर खबरदारी गर्दै आरहेको छ,’ अपरिचित नम्बरबाट पुन जबाफ आयो ।

त्यसपछि सांसद अधिकारीले पनि लेखे, ‘ए हामी आफ्नो काम छिट्टै सक्ने कोसिसमा छौं । सायद समितिको मुख्य व्यक्तिले आधिकारीक रुपमा बताउन सक्नुहुन्छ ।’

अपरिचित नम्बरबाट पुनः प्रतिक्रिया आयो, ‘जवाफका लागि धन्यवाद । सत्याग्रही डा गोविन्द केसीसँग भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा तपाईको सक्रिय योगदानको अपेक्षा गर्दछौँ । धन्यवाद ।’

सांसद अधिकारीले पनि ‘हस धन्यवाद’ भन्ने प्रतिक्रिया दिए ।

एसएमएसको सवाल जवाफ यत्तिकैमा सकियो ।

सांसद खगराज अधिकारीको मोवाइलमा जस्तै संसदको शिक्षा तथा स्वास्थ्य समितिको अन्य ११ जना सांसदहरुको मोवाइलमा पनि विभिन्न मोवाइलबाट ‘नमस्कार माननियज्यू, चिकित्सा शिक्षा विधेयक संसदबाट कहिले पारित हुन्छ ? जवाफका लागि अग्रिम धन्यवाद ।’ भन्ने जिज्ञासा राखिएको एसएमएस गइरहेको छ ।

कतिपय सांसदहरुले त्यसको प्रतिक्रिया दिएका छन् भने कतिले दिएका छैनन् ।

सरकारले डा गोविन्द केसीसँग १५ औं अनसनका समयमा माथेमा प्रतिवेदन र डा केसीसँगको सहमति अनुसार कै विधेयक संसदवाट पारित गर्ने सहमति गरेको थियो । 

तर, संसदको वर्षे अधिवेशबाट उक्त विधेयक पारित हुन सकेन ।

विधेयक पारित हुन नसकेपछि डा केसीले सरकारलाई १६ औं अनसन बस्न सक्ने चेतावनी दिएका छन् । 

सरकारले डा केसीलाई धोका दिएको भन्दै डा केसी समर्थकले डा केसीसँग भएको सहमति अनुसार नै विधेयक छिटो पारित गर्न सांसदहरुलाई दवाव दिन एसएमएस गर्न थालेका हुन् ।

विधेयक अहिले संसदको शिक्षा र स्वास्थ्य समितिमा छलफलका क्रममा छ । समितिमा रहेका केही सांसदले विधेयकलाई तोडमोड गर्न खोजेको भन्दै डा केसी समर्थकले समितिमा भएका सबै सदस्यलाई डा केसीसँगको सहमति सम्झाउन एसएमएस मार्फत दवाव दिन थालेका हुन् ।

समर्थकले समितिका सबै सदस्यहरुको नाम र फोन नम्बर सामाजिक सञ्जालमा राखेर एसएमएस मार्फत दवाव दिन आग्रह गरेका छन् । उनीहरुको आग्रहपछि नै सांसदको मावाइलमा एसएमएस जान थालेको हो ।

समितिको सभापति जयपुरी घर्ती हुन् । उनीहरुले घर्तीसहित समितिका सदस्यहरु अञ्जना विशंखे, खगराज अधिकारी, गगन थापा, भैरव बहादुर सिंह, योगेश भट्टराई, शन्तकुमार थारु, हित बहादुर तामाङ, उमाकान्त चौधरी, चित्रलेखा यादव र एकवाल मिँयाको नम्बरमा एसएमएस गरेर विधेयकका विषयमा जिज्ञासा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्