दूध उत्पादनको ९८ प्रतिशत हिस्सा परम्परागतमै



काठमाडौं । दूध उत्पादन व्यवसायमा सरकारको स्पष्ट नीति र लगानी अभावमा नेपालमा उत्पादन हुने दूधमध्ये ९८ प्रतिशत हिस्सा परम्परागत पशुपालनमै निर्भर हुने गरेको पाइएको छ । कृषि मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको एउटा सर्वेक्षणका अनुसार नेपालमा व्यावसायिक फर्महरूको दूध उत्पादन योगदान जम्मा २ दशमलव ७८ प्रतिशत मात्र देखिएको छ ।

यसो हुनुमा सरकारको स्ष्ट नीति र दूध व्यवसायमा सरकारी लगानी र अनुदान कम भएको व्यावसायी बताउँछन् । सर्वेक्षणले व्यावसायिक पशुपालन फर्मबाट देशभर वार्षिक ६ करोड ९० लाख ३४ हजार ५४८ लिटर मात्र दूध उत्पादन हुने गरेको पाइएको छ ।

कृषि मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार मुलुकभर गाई र भैँसीको वार्षिक २४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार लिटर दूध उत्पादन हुन्छ । सो तथ्याङ्कसँग मुलुकमा वार्षिक रूपमा उत्पादन हुने कुल दूधको तुलना गर्दा व्यावसायिक पशुपालन फर्मबाट उत्पादन हुने दूधको हिस्सा २ दशमलव ७८ प्रतिशत मात्र रहेको देखिएको हो ।

सर्वेक्षणअनुसार देशभरि ६ हजार ४८६ वटा पशुपालन व्यावसायिक फार्म छन् । जसमा १५ हजार ३८० वटा दूध दिने गाईहरूबाट वार्षिक ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दूध उत्पादन भएको देखाएको छ । सबैभन्दा धेरै होलिस्टिन र होलिस्टिन क्रसब्रिड जातका ६ हजार ८०९ वटा गाईबाट वार्षिक २ करोड ५१ लाख १० हजार ४२२ लिटर दूध उत्पादन भएको छ । यस्तै स्थानीय २ हजार ९८ वटा गाईबाट १८ लाख ७२२ लिटर दूध उत्पादन भएको छ ।

यस्तै जर्सी क्रसब्रिड जातका ५ हजार ९५४ वटा गाईबाट वार्षिक १ करोड ७४ लाख ३१ हजार ५४५ लिटर उत्पादन भएको छ । सो सर्वेक्षणअनुसार सबैभन्दा धेरै व्यावसायिक दूध उत्पादन बाग्मती प्रदेशमा हुने गरेको पाएको छ । देशभर ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दूध उत्पादनमा बाग्मती प्रदेशमा मात्र १ करोड ३५ लाख ९८ हजार ५१० लिटर दूधको उत्पादन हुने गरेको पाइएको छ ।

सर्वेक्षणअनुसार स्थानीय जातको गाईको सरदर दूध दिने अवधि ९ महिना र उन्नत जातको १० महिना देखाएको ६ महिना दूध दिन्छ । यस्तै प्रतिगाई सरदर १० लिटर दूध उत्पादन सर्वेक्षणले देखिएको छ । यसै गरी सर्वेक्षणअनुसार व्यावसायिक फार्महरूबाट वार्षिक २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ । जसमा सबैभन्दा धेरै दूध उत्पादन गण्डकी प्रदेशमा हुने गरेको पाइएको छ । देशभरि वार्षिक २ करोड ३२ लाख ३१ हजार ९१ लिटर दूध उत्पादनमा गण्डकी प्रदेशमा ८३ लाख ८८ हजार १८३ लिटर दूध उत्पादन हुने गरेको अध्ययनले देखाएको छ ।

जातअनुसार तुलना गर्दा मुर्रा जातको भैँसीबाट सबैभन्दा बढी दूध उत्पादन हुने गरेको पाइएको छ । सर्वेक्षणअनुसार भैँसीको सरदर दूध दिने अवधि ९ महिना देखाएको र घटीमा ६ महिना दिन्छ भने प्रतिभैँसी प्रतिदिन सरदर ८ लिटर दूध उत्पादन गर्छ । यसै गरी हप्तामा उत्पादित दूधमध्ये गाईको ८९ प्रतिशत दूध र भैँसीको ८५ प्रतिशत दूध बिक्री हुने गरेको समेत सर्वेक्षणले देखाएको छ ।

व्यावसायिक पशुपालन सर्वेक्षणअनुसार देशभर ६ हजार ४८६ व्यावसायिक पशुपालन फर्ममध्ये १ हजार २३३ वटा गाईपालन फर्म छन् भने ९१४ वटा भैँसीपालन फर्म छन् । जसमा ४३ वटा राँगापालन फर्म, २ हजार २९५ वटा बाख्रा/च्याँग्रापालन फर्म, ५७२ वटा भेडापालन फर्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फर्म छन् ।

यसै गरी, यो सर्वेक्षणले नेपालमा गाई/भैँसीपालन मिश्रित फर्म ४८३ वटा, बाख्रा/च्याँग्रा/भेडापालन (मिश्रित) फर्म १९८ वटा र गाई/भैँसीपालन तथा बाख्रा/च्याँग्रा/भेडापालन (मिश्रित) फर्म २६५ रहेको देखाएको छ । यस्ता व्यावसायिक पशुपालन फर्महरूमध्ये प्रदेश नम्बर १ मा सबैभन्दा बढी १ हजार २७० वटा र मधेस प्रदेशमा सबैभन्दा कम ४०४ वटा फर्महरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्