गण्डकीका अर्थमन्त्री बरालको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी



पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि कास्की ३ बाट उम्मेदवार बनेका माओवादीका नेता बरालविरुद्ध उजुरी परेको हो ।

बरालले सरकारी संयन्त्रबाट लिएको कर्जा नतिरेर उम्मेदवार बनेको भन्दै पोखरा २४ का बोधराज सुवेदीले उजुरी गरेका हुन् । बराल संलग्न रहेको पोखरा ९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थालाई कोषले ५० लाख रुपैयाँ कर्जा दिएको थियो । त्यसको साँवा, ब्याज २०७३ साल असार मसान्तसम्म बुझाउनुपर्ने थियो । तर, नबुझाएपछि कोषले उक्त संस्थामा संलग्न बरालसहित १५ जनाको नाम कालोसूचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्