विदेशी मुद्रा सञ्चितिमा सुधार



काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा केही सुधार आएको छ । लामो समयदेखि घट्दो क्रममा रहेको विदेशी विनियम सञ्चिति बढ्न थालेको छ। केही वस्तु आयातमा सरकारले गरेको कडाइ र विदेशी सहायता आएसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ बराबर पुगेको छ।

बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महिनासम्मको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। यो विनिमय सञ्चिति र बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति साढे ९ महिनाको वस्तु आयात र सवा ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको पहिलो त्रैमासिक आर्थिक तथा वित्तीय रिपोर्टले देखाएको छ ।

राष्ट्र बैंकको त्रैमासिक आर्थिक तथा वित्तीय रिपोर्टले साढे ९ महिनाको वस्तु आयात र सवा ८ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनियम सञ्चितिमा सुधार आए पनि अझै पुरानो लयमा नेपालको अर्थतन्त्र आएको अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । पछिल्लो समय विदेशी वस्तुको आयातमा कडाइ गरिएको र विदेशी सहायता आएका कारण विदेशी विनियम सञ्चितिमा केही सुधार देखिएको भए पनि ३ महिनाको वित्तीय समीक्षाको सूचकअनुसार नेपालको अथतन्त्र पुरानै लयमा आएको भन्न नकिने अर्थविद् अधिकारी बताउँछन् ।

६ महिनाको वित्तीय समीक्षाको सूचकका आधारमा मात्र देशको अर्थतन्त्र कुन अवस्था छ भने सकिने उनले बताए। राष्ट्र बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय समीक्षाले नेपालको अर्थतन्त्र खतराको जोनबाट बाहिर आएको उनले बताए।

विदेशी सहायताबाट आएको विदेशी विनियम सञ्चितिभन्दा विदेशी लगानी र पर्यटकको आगमनबाट भित्रिएको विदेशी मुद्राले मात्र देशको अर्थतन्त्र बालियो हुने उनको भनाइ छ। महँगी साढे ८ प्रतिशत वृद्धि भएको र निर्वाचनमा खर्च बढ्ने हुँदा अहिलेको विदेशी विनिमय सञ्चितिको अवस्थालाई लिएर उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

राष्ट्र बैंकको वित्तीय समीक्षाअनुसार अघिल्लो आ.व.को अन्त्यमा विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रूपैयाँ बराबर थियो । अमेरिकी डलरमा भने विनिमय सञ्चिति ० दशमलव ६ प्रतिशतले घटेर ९ अर्ब ४८ करोड रूपैयाँ कायम भएको छ । अघिल्लो वर्षको अन्त्यमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड रूपैयाँ थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रूपैयाँ रहेकामा गत असोज मसान्तमा ४ दशमलव ३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रूपैयाँ पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रूपैयाँ रहेकामा असोज मसान्तमा ९ दशमलव ३ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ६२ करोड रूपैयाँ रहेको छ ।

चालू आ.व.को पहिलो त्रैमासिकको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ८ प्रतिशत छ। २०७८ साउनमा १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँ बराबर रहेको विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेर गत वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोड रूपैयाँमा झरेको थियो। अहिले विदेशी मुद्राको सञ्चिति १ महिनामै ५७ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ बराबर पुगेको छ।

चालू आ.व.को ३ महिनामा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रूपैयाँले घाटामा रहेको थियो । सरकारले लिएको नीतिका कारण महŒवपूर्ण सुधार भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ। अमेरिकी डलरमा अघिल्लो वर्षको असोज मसान्तसम्म ७४ करोड १२ लाख रूपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाख रूपैयाँले बचतमा छ।

समीक्षा अवधिमा चालू खाता ३४ अर्ब २८ करोड रूपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४९ अर्ब ८१ करोड रूपैयाँले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोड रूपैयाँले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २७ करोड रूपैयाँले घाटामा छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४ दशमलव ८ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड रूपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रूपैयाँ प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रूपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्