जीप दुर्घटना हुँदा जुम्लामा मतदान अधिकृतसहित ६ जना घाइते



जुम्म्ला । जुम्लामा जीप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् । जुम्ला खलङ्गा देखि तातोपानी ८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जाँदै गरेको भे १ च २१८८ नम्बरको बोलेरो जीप तातोपानी ४ रावतबाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जीप सडकदेखि २० मिटर तल खसेको छ ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिएका छन् ।

अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी,डीएसपी नरेन्द्र चन्द सहितको टोली अस्पताल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्