पर्यटनमा आशा : जहाँ चुनाव होइन सुन्दरताको प्रचार हुन्छ



काठमाडौं । मुस्ताङको सदरमुकाम जोमसोम बजारमा विगत ९ वर्षदेखि सञ्चालित एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनलाई पर्यटकहरूको स्वागत गर्न भ्याई नभ्याई छ। होटल चुनावी प्रचारका कारण होइन, पर्यटकका कारण भरिभराउ छन्। दे

शभर चुनावी माहोल तातेका बेला मुस्ताङका होटलदेखि गाउँबस्तीसम्म चुनावी माहोल न्युन छन्। तर मान्छेको उपस्थिति चुनावी सभाभन्दा बाक्ला। यी मानिस चुनावको वेवास्ता गर्दै सौन्दर्यमा लठ्ठपर्न यतिवेला मुस्ताङका विभन्नि भूभागमा छन्, सदरमुका जोमसोमका होटल र चियापसलमा पनि भरिभराउ छन् ।

एमोनाइट होटलमा दैनिक ५० देखि ६० जना पर्यटकहरू बास बस्ने गर्छन् । होटलको क्षमता ६० जनासम्मको मात्र भएको हुँदा होटलमा आएका पर्यटकलाई ठाउँ छैन भनेर केहिलेकाहीँ फर्काउनुपर्ने बाध्यता आइलाग्दा उनलाई निकै दुःख लाग्छ ।

कोरोनापछि मुस्ताङमा पर्यटकको सङ्ख्या निकै बढेकाले होटलका काम बिहानदेखि मध्यरातसम्म भ्याई नभ्याई हुने बताउँछिन् शेरचन। असोजदेखि कात्तिकसम्म मुस्ताङमा घुम्ने समय उपयुक्त भएकाले आन्तरिक र विदेशी पर्यटकहरू बढेकाले कामको चटारोले एकअर्कासँग बोल्ने फुर्सदसमेत नहुने यहाँका अन्य होटल सञ्चालकहरू बताउँछन्।

‘विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य थियो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेका छन् । मुस्ताङमा आउने पर्यटकहरूमध्येमा आन्तरिक र भारतीय बढी हुन्छन्’, शेरचन भन्छिन्, ‘पर्यटकको सङ्ख्या बढेकै कारण ३ वर्षदेखि थालिएको होटल व्यावसायमा अहिले मासिक १५ देखि २० लाख रुपैयाँको कारोबार हुने गरेको छ।’

३ वर्षअघि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणले सुनसान भएको पर्यटकीय स्थल मुस्ताङमा अहिले कोरोना सङ्क्रमण कम हुँदै गएपछि मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटकहरूको चहलपहल बढेको हो । कोरोनाले थलिएका मुस्ताङका होटल व्यावसायी पछिल्लो समय पर्यटकहरूको आगमन बढ्दै गएपछि निकै उत्साही छन् । कोरोना सङ्क्रमणले सुनसान बनेका यहाँका होटल अहिले आन्तरिक तथा विदेशी पर्यटकहरूका कारण भरिभराउ छन् ।

मुस्ताङको सदरमुकाम जोमसोम मात्र नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या निकै बढ्दै गएको होटल व्यावसायी बताउँछन् । यस्तै लोमान्थाङस्थित मिस्किट होम्स् एन्ड कफी सपका सञ्चालक करचुन गुरुङले सिजन भएकाले पर्यटकको सङ्ख्या बढेको जानकारी दिइन् ।

दैनिक ५० देखि ६० जनालाई खाना खुवाउने गरेको उनले बताइन्। धेरैजसो पर्यटक मुक्तिनाथ दर्शन गरेर जाने हुँदा माथिल्लो मुस्ताङ घुम्न कम आउने गरेको उनले जानकारी दिइन्। चिसो बढ्दै गएकाले माथिल्लो मुस्ताङ आउने पर्यटकको सङ्ख्या घट्न थालेको गुरुङको भनाइ छ।

यस्तै, मुस्ताङको छुसाङस्थित एलिस होटलका सञ्चालक विदुर गुरुङले माथिल्लो मुस्ताङ कोरला नाकासम्म पुगेर पर्यटकहरू मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने गरेको बताए। दिनमा १०० देखि २०० जना सीमानाकासम्म पुग्ने उनले जानकारी दिए । माथिल्लो मुस्ताङमा धेरै चिसो हुने हुँदा कतिपय पर्यटक मुक्तिनाथ दर्शन गरेर फर्कने गरेको उनले सुनाए।

चिसोका कारण माथिल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा कमी आएपछि मुक्तिनाथ मन्दिरस्थित होटल नर्लिङका सञ्चालक तेन्जिङ गुरुङलाई भने यतिबेला पर्यटकहरूको स्वागतमा भ्याई नभ्याई छ। मुस्ताङ जाने अधिकांश पर्यटकहरू मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने गरेकाले गुरुङलाई भ्याई नभ्याई भएको हो।

कोरोना सङ्क्रमणमा कमी आएपछि ३ वर्षयताकै बढी पर्यटकहरू मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आएका गुरुङको भनाइ छ। मुक्तिनाथमा दर्शन गरेर फर्किने हुँदा आफ्नो होटलमा बस्नेभन्दा खाना खान आउने पर्यटकहरूको भिड बढी हुने गुरुङ बताउँछन्। गुरुङले आफ्नो होटलमा दैनिक ५० देखि ६० जना पर्यटक बास बस्न आउने गरेको जानकारी दिए।

विगत ६ वर्षअघिदेखि पोखरा–मुस्ताङ रुटमा पर्यटकको सवारी चलाउँदै आएका लोकराज खत्री १ महिनादेखि नियमित रूपमा पर्यटक बोकेर माथिल्लो मुस्ताङसम्म पुग्ने गरेको बताउँछन् । कोरोनापछि मुस्ताङ जाने आन्तरिक सङ्ख्या बढेका कारण पोखराबाट मुस्ताङ र फेरि पोखरा आइपुग्ने भएकाले आम्दानी पनि राम्रै हुने गरेको उनले बताए।

चीनको तिब्बतसँगको सीमा कोरला नाकासम्म नै सडक पुगेको हुँदा पछिल्लो समय धेरैजसो पर्यटक माथिल्लो मुस्ताङ कोरला सीमासम्म पुगेर फर्किने गरेका सवारी चालक खत्री बताउँछन् । पर्यटकको चहलपहल बढेसँगै लामो समयदेखि बन्द रहेका होटल व्यवसाय पुरानै लयमा फर्कन लागेको व्यवसायी निर्मला शेरचनको पनि भनाइ छ।

मुस्ताङ जाने र फर्किने पर्यटकको चाप बढेपछि म्याग्दीको बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलमा चहलपहल बढ्न थालेको बेनीका होटल सञ्चालक अमर कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्