असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि



तनहुँ । तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ। फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ। तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला शहरमा बिक्री वितरण हुन्छ,’ कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने, ‘कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ। समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ।’

उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उनी बताउँछन्। ‘यस वर्ष करीब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ। फल्ने क्षेत्रफल घटेको छ,’ तिवारीले भने । गत वर्ष जिल्लामा १ हजार ६६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा ९ हजार ५१० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

यस वर्ष फल्ने क्षेत्रफल घटेर १ हजार ४८० हेक्टरमा सुन्तला खेती गरिएको उनले बताए । उनका अनुसार उक्त क्षेत्रफलमा ९ हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। जिल्लामा यस वर्ष कूल २७ करोडको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौं, पोखरा, नारायणगढ लगायतका स्थानमा निर्यात गरिन्छ ।

सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको उनी बताउँछन्। व्यास नगरपालिका–१३ बेनीकोटका किसान खेमबहादुर रानाले यस वर्ष एकतिहाइ सुन्तला उत्पादन वृद्धि भएको बताए। सुन्तलाको दाना ठूला भएकाले ग्राहकले खरिद गर्दा माग गरिएको रकम दिन तयार भएको उनी बताउँछन्।

‘बेनीकोटमा निरन्तर उत्पादन राम्रो हुने हो। यसपटक अझै बढी उत्पादन भएको छ,’ किसान रानाले भने । विगतको तुलनामा किसान सचेत भएको उनी बताउँछन्। ‘पहिले मलजल, स्याहारसुसारको कमी हुन्थ्यो। अहिले किसान सचेत भएका छन्। राम्रो उत्पादन लिन सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसँगै मलजल, पानी समयमा पुर्‍याउनुपर्छ भन्ने बुझ्दै आएका छन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्