नुवाकोटमा आमनिर्वाचन : मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा



नुवाकोट । यही आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी नुवाकोटमा निरन्तर अघि बढेको छ। निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभइ आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।

उनका अनुसार आयोगबाट प्राप्त कार्यादेशबमोजिम शुक्रबारसम्म मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेका छन् भने मतदान स्थलमा गर्नुपर्ने तयारीको कामहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

“मतदान केन्द्रमा खटिएका कर्मचारीले चारकिल्ला निर्धारण गर्ने, मतदान केन्द्रको तीन सय मिटर वरपर चुनावी प्रचारका सामग्री हटाउने, मादक पदार्थ निषेधित क्षेत्र भएको सूचित गर्ने, मतदान केन्द्रका लागि छेकाबार निर्माण, लाइन बस्ने डोरी टाँग्ने, एक ढोकाबाट भित्र पसेर मतदान गर्ने र अर्को ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाउनेसहितको आवश्यक काम सम्पन्न भएको छ”, मुख्य निर्वाचन अधिकृत धामीले भने– “भौतिक संरचनाको निर्माणसहित मतदान अधिकृतले गर्नुपर्ने निर्वाचनसँग सम्बन्धित राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिसँगको सर्वदलीय बैठकमार्फत मतदानका क्रममा अपनाइने आचरणका सम्बन्धमा आचारसंहिता तयार गर्ने, बुथमा बस्ने उम्मेदवारको प्रतिनिधिको नामावली सङ्कलन गर्ने लगायतका आवश्यक काम कारबाही सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।”

नुवाकोट जिल्लामा कायम रहेको दुई वटा अस्थायीसहितको १३४ मतदान स्थलमा २९० मतदान केन्द्र निर्वाचनको लागि तयार भएको छ।

मतदाता शिक्षा कार्यक्रम

निर्वाचनको लागि खटिएका मतदान अधिकृतले छनोट गरेका स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ। वडा तहमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकामार्फत आवश्यकताअनुसार मतदाता शिक्षा नपुगेको गुनासो आएकाले केन्द्रबाट मतदाता शिक्षा प्रवाह गर्न भनिएको नुवाकोटका मुख्य निर्वाचन अधिकृत धामीले जानकारी दिए।

सुरक्षाकर्मीको पहुँच

यही आइतबार शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन शनिबारदेखि नै कार्यक्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदानस्थललाई आफ्नो पहुँचमा लिइसकेका छन् । मतदान केन्द्रमा पुर्याइएका मतपत्रसहितको मतदान सामग्रीहरू सुरक्षा घेरामा सुरक्षित राख्ने, हुलहुज्जत हुन नदिन मतदान स्थलको सुरक्षा रणनीति अपनाउने, निर्वाचनको समयमा आइपर्न सक्ने प्राकृतिक चुनौतीको पूर्व तयारी स्वरूप वर्षा भएमा छेक्न त्रिपाल र उज्यालोका लागि बिजुली बत्तीको प्रबन्ध, हावाहुरीबाट सुरक्षित बनाउन सोहीअनुसार मतसङ्केत गर्ने टेबल र मतपेटिका सुरक्षित बनाउने व्यवस्थालगायतमा समेत ध्यान दिएर मतदान अधिकृतहरूबाट मतदानस्थल तयार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।

उनका अनुसार मतदानका लागि जिल्लाभर आवश्यकताका आधारमा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ । “जिल्लाका सबै मतदानस्थल सुरक्षाकर्मीको पहुँचमा रहेको छ”, प्रजिअ रिसालले भने– “पालिकास्तरमा नेपाली सेना, सशस्त्र प्रहरीको सुरक्षा दस्ता तैनाथ गरिएको छ । नेपाल प्रहरीको यसअघि कायम रहेका एकाई र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले आफ्नो कार्यक्षेत्रको जिम्मेवारीअनुसार जिल्लाभरको सुरक्षा व्यवस्था चुस्त बनाएर मतदातालाई निर्धक्कसँग मत दिन पाउने वातावरण तयार गरिएको छ ।”

सुरक्षा संवेदनशीलताको आधारमा एक मतदान केन्द्रमा आठ जनादेखि २२ जनासम्म सुरक्षाकर्मी खटाइएको छ । मतदान केन्द्रको भित्री सुरक्षा (मतदानका लागि तोकिएको चारकिल्ला) मा म्यादीलाई साथ लिएर नेपाल प्रहरीले गर्ने भएको छ भने मतदान केन्द्रको बाहिरी घेराबाट सशस्त्र प्रहरी बलले पहरा दिने भएको छ ।

निर्वाचनका क्रममा हुनसक्ने अप्रिय घटना तथा सुरक्षा वस्तुस्थितिको जानकारी सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सूचना सङ्कलन गर्नेछन् भने मतदानस्थलको ५० मिटरबाहिर घेरामा रहेर नेपाली सेनाले सुरक्षा दिने गरेर जिल्लाभरको मतदान केन्द्रको सुरक्षा सुदृढ बनाइएको प्रजिअ रिसालले जानकारी दिए।

उनका अनुसार निर्वाचनका क्रममा मतदान केन्द्रदेखि अन्यत्र कहीँकतै निर्वाचनलाई बाधा अवरोध पुग्ने, मतदातालाई डरधम्की तथा त्रास फैलाउने, लोभ प्रलोभनमा पार्कलगायतका अस्वाभाविक गतिविधि गरेर शान्तिपूर्ण निर्वाचनको वातावरणमा खलल ल्याउन खोजे तत्कालै सुरक्षाकर्मी उपस्थित हुने गरेर निर्वाचन सुरक्षा रणनीति बनाइएको छ ।

मौन अवधिको प्रभावकारी कार्यान्वयन

शुक्रबारदेखि सुरु भएको मौन अवधि (स्थिर समय) का कारण राजनीतिक दल र उम्मेदवारहरूको गतिविधि जिल्लाभर शून्य छ। शुक्रबारदेखि निर्वाचनको अन्तिम मत परिणाम नआएसम्म दल र उम्मेदवारसँग सम्बन्धित चुनावी प्रचारप्रसार तथा आरोप–प्रत्यारोपको गतिविधि गर्न नपाइने भएकाले त्यसको पालना अहिलेसम्म प्रभावकारी भइरहेको जिल्ला निर्वाचन आचारसंहिता अनुगमनकर्ता रामकृष्ण पुडासैनीले जानकारी दिए।

आम निर्वाचनका लागि नुवाकोटमा स्थायी रूपमा कायम गरिएको एक सय ३२ मतदान स्थलमा दुई सय ८८ मतदान केन्द्र बनाइएको छ। कैदीबन्दीका लागि जिल्ला कारागार र सरकारी कर्मचारीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा अस्थायी मतदान केन्द्र खडा गरिएको छ। अस्थायी मतदाताले प्रतिनिधिसभा तर्फको समानुपातिक मतपत्रमा मात्र मत दिने पाउने व्यवस्था रहेको निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा एक लाख २० हजार सातसय ५२ र क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ जना मतदाता यही आइतबार हुन लागेको निर्वाचनमा मत दिन योग्य ठहरिएका छन्।

प्रतिक्रिया दिनुहोस्