निर्वाचनमा कर्मचारीको गल्ती, प्रदेश र संघको मतपत्र नै साटफेर



काठमाडौँ । निर्वाचन आयोगका कर्मचारीको गल्तीका कारण मतपत्र साटफेर भएको छ । संघीय संसद र प्रदेशसभाको एकै दिन मतदान भइरहँदा मतदान केन्द्रमा निर्वाचन आयोगले खटाएका कर्मचारीहरुको गल्तीले संघको मतपत्र प्रदेशको बाकसमा र प्रदेशको मतपत्र संघको मतपेटिकामा खसेको हो ।

रुपन्देहीको सालझण्डीस्थित पशुपति माध्यमिक विद्यालय केन्द्रमा कर्मचारीहरुले प्रदेशको ठाउँमा संघको मतपत्र दिएपछि विवाद भएको छ । कर्मचारीले प्रदेशसभातर्फ दिनुपर्ने ठाउँमा संघीय संसदकै ३० वटा मतपत्र मतदाताको हातमा थमाइदिएका थिए । मतदाताले पनि कर्मचारीले दिएको संघीय संसदकै ३० वटा मतपत्रमा मतदान गरेर प्रदेशसभाको बाकसमा खसाएका छन् ।

यस्तै, झापामा पनि यस्तै गल्ती भएको छ । प्रदेशको मतपत्र संघको बाकसमा र संघीको मतपत्र प्रदेशको बाकसमा खसेको छ । झापा नगरपालिका-५ को गौरीगञ्जस्थित गौरी प्राविको मतदान त्यहीकारण स्थगित भएको छ । निर्वाचनमा खटिएका कर्मचारीको कमजोरीका कारण मतदाताले संघको मतपत्र प्रदेशमा र प्रदेशको मतपत्र संघमा खसालेका हुन् ।

धनुषाको कमला नगरपालिका-६ बिलट बौकु मावि माडन मतदानस्थलको ‘ख’ केन्द्रमा पनि कर्मचारीको यस्तै गल्ती मतदान रोकिएको छ । मतदान अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्षतर्फको दिएको पाइएपछि मतदान रोकिएको हो । त्यहाँ बिहान ९ बजेसम्म ७० वटा मत खसिसकेको थियो ।

यसैगरी सप्तरी-२ को राजविराज नगरपालिका-११ स्थित स्वास्थ्यचौकी मतदान केन्द्र ‘क’ मा पनि प्रतिनिधि सभातर्फको मत पत्रको ठाउँमा प्रदेश सभाको दिइएको छ । त्यहाँ पनि झण्डै डेढ घण्टा मतदान रोकिएको छ । त्यसबेलासम्म ३९ जनाले मतदान गरिसकेका थिए ।

बाराका मतदान सुरु

संघको मतपेटिकमा प्रदेश र प्रदेशको मतपेटिकामा संघको मत खसेपछि रोकिएको बाराका दुबै केन्द्रमा मतदान सुरु भएको छ । कलैया उपमहानगरपालिका-२५ ससिनाया मतदान केन्द्र र जितपुर–१३ पोताको मतदान केन्द्रमा मतदान अधिकृतले प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिकामा र प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसालेपछि केही समय मतदान रोकिएको थियो ।

अहिले दुबै मतदान केन्द्रमा नयाँ मतपेटिका राखेर मतदान सुचारु गरिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्