नवलपरासी, कैलाली र कस्कीमा कति खस्यो मत ?



काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो साढे २ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनकरुपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।

कैलालीमा ४७ प्रतिशत

कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।

कास्कीमा ४२ प्रतिशत

जारी मतदानमा कास्कीमा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ । कास्कीमा उत्साहजनक रुपमा मतदानमा सहभागी भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुनः शुरु भएको छ । एक मतदाताले मतपेटिका फुटालेपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि फेरी शुरु भएको हो ।

नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि नेकपा बहुमत जिन्दावादको नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्