ब्यालेटको संकेत



काठमाडौं । सङ्घीय गणतन्त्रपछिको दोस्रो आमनिर्वाचनमा आयोगकै भनाइमा छिटफुटबाहेक शान्तिपूर्ण मतदान भएको छ । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभामा आउने जनप्रतिनिधिको फैसला जनताले गरिसकेका छन् । अब परिणाम कसको पोल्टामा पर्दै छ भनेर कुर्ने समय मात्र बाँकी छ ।

४ दलले बहिष्कार गर्ने र बिथोल्ने बताउँदै आए पनि अन्ततः डेढ दर्जन हाराहारी क्षेत्रमा मात्र मतदान स्थगित हुनु सरकारको व्यवस्थापकीय पक्षका हिसाबले सन्तोषजनक हो । तर, मतदाता जुन उत्साहका साथ मतदान स्थल पुग्नुपर्ने हो, त्यो भने गत स्थानीय तह निर्वाचनभन्दा बढ्न सकेन । यो एउटा चिन्ताको विषय हो ।

दलहरू चुनाव जित्न जुनसुकै हर्कत गर्न तयार छन् भन्ने देशभरका केही स्थानमा भएका झडपले देखाइसकेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न नसकेको परिणाम बुथ, मत पेटिकामा आक्रमण गर्नेदेखि लिएर कार्यकर्ताबीच झडप गराउने अवस्थाबाट अझै दल र उम्मेदवार माथि उठ्न नसकेका अवस्था हो यो । यस अवस्थाको अन्त्य गर्न नसकेकामा दलहरुले आत्म आलोचित हुनै पर्छ ।

एकअर्कामाथि दोषारोपण गरेर मुक्त हुने अवस्था छैन । निर्वाचनमार्फत जनताले अभिमत जाहेर गरिसकेको अवस्थामा अब विगतमा जस्तो ‘म स्वीकार गर्दिनँ’ भनेर दलहरूले भन्नेछैनन् भन्ने अपेक्षा आममतदाताको छ । अबको २ साताभित्र सरकार गठनको प्रक्रियामा पहिलो हुने दल लाग्छन् भनेर आममतदाताको विश्वास छ । यस विश्वासमा यस पटक दलहरूबाट धोका नहोस् ।

अर्कातर्फ यस पटक शहरी क्षेत्रका मतदातामा मतदानप्रति उत्साह नदेखिनु चिन्ताको विषय हो । उत्साह नआउनुमा निर्वाचन आयोगले गर्ने व्यवस्थापकीय कार्यमा कतिपय ठाउँमा त्रुटि देखिए होलान्, त्यसभन्दा बढी दलहरूले जनतालाई आफूहरूप्रति आश्वस्त र ढुक्क पार्न सकेनन् भन्ने नै हो । नयाँ भनिएका र स्वतन्त्र व्यक्तिहरूप्रति मतदानका दिन मतदातामा देखिएको उत्साहले दलले जिते पनि वा हारे पनि समीक्षा गर्नुपर्नेछ ।

हिजो गरेका गल्तीको परिणाम बाकसले देखाउने कुरामा दुई मत रहेन तर दलहरूले चुनाव प्रचारमा जाँदा आफूहरूप्रति देखिएको निराशालाई भावी शिक्षाको रूपमा खासै ग्रहण नगरेको घटना र वस्तुस्थितिले देखाइरहेका छन् । यो कमजोरीको भागीदार दलहरू नै हुन् । उनीहरूले परिणामसँगै विगतका कमजोरीलाई पनि आत्मसात् गर्नुपर्छ । आशा गरौँ, गर्ने नै छन् ।

के पनि आशा गरौँ भने, जनता यस पटक यथास्थितिभन्दा राजनीतिक परिदृश्य फरक होस् भन्ने चाहनामा छन् । यो चाहना कति पूरा हुन्छ, परिणामले देखाउँछ । तर, आफ्नो पक्षमा मत नपरेको आधारमा घोटाला भएको आरोप प्रत्यारोप यस पटक कम्तीमा जनताले सुन्न चाहेका छैनन् । दलहरूले यस विषयलाई नजिकबाट नियालून् ।

प्रतिक्रिया दिनुहोस्