बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, ३ जनाको अवस्था गम्भीर



बैतडी । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परी घाइते ९ जना भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै नेपाली प्रहरीका कर्मचारीहरू रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते पनि जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् ।

३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख कमलप्रसाद चौधरीले बताए ।

घाइते २ जनाललाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । अन्य गम्भीर घाइते लैजानका लागि पनि हेलिकप्टर फेरि आउने उनले बताए । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका- ४ को थूममा जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको छ ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्