एक शिक्षिकाको भरमा प्राथमिक विद्यालय



बैतडी: डिलाशैनीमा गाउँपालिका–३, सेलीमा रहेको शेला प्राथमिक विद्यालय एक शिक्षिकाको भरमा सञ्चालन हुदै आएको छ। २०६४ सालमा घुम्ती विद्यालयका रुपमा सञ्चालन आएको उक्त विद्यालयको आर्थिक अवस्था जानुक  रहेको छ। 

आर्थिक अवस्था कमजोर हुँदा विद्यालयले शिक्षकको व्यवस्था गर्न सकिएको छैन। शिक्षक अभावकै कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको छ। यस विद्यालयले २०६७ सालमा कक्षा ३ सम्म अध्ययन गर्ने अनुमती पाएको थियो। 

३५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा शिशु कक्षाकी एक मात्रै शिक्षिका बिस्मती पन्तले धान्दै आएकी छन्।  विद्यालयको कक्षा १ मा ६, कक्षा २ मा ७, कक्षा ३ मा १० र शिशु कक्षामा १२ जना गरी जम्मा ३५ जना विद्यार्थी छन्।  चार घण्टा शिशु कक्षा हेरेर बाँकी दुई पिरियड मात्रै पढाउन मिल्ने भए पनि आफुले भ्याइनभ्याइ सबै कक्षा कोठामा पढाउने गरेको शिशु कक्षाकी शिक्षिका बिस्मती पन्तले बताइन्। 

 स्थानीयले चन्दा उठाएर निजी स्रोतबाट शिक्षक राख्दा पनि तलब कम हुने भन्दै कोही पनि पढाउन नमानेको स्थानीयका भनाइ छ। विद्यालयसँग आर्थिक स्रोत नभएकाले सरकारले तोकेअनुसार तलब दिन नसकिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। 

 एक वर्षअगाडि जिल्ला शिक्षा कार्यालयले दिएको अनुदानको रकमले ७-८ महिनाका लागि एक जना शिक्षक राखिएको तर तलब कम भएको कारण ती शिक्षकले छोडेर गएको व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। 

‘गत वर्ष शिक्षा कार्यालय बैतडीको अनुदान रकम र अभिभावकहरुबाट चन्दा उठाएर जसोतसो तलब खुवायौं,’ उनले भने ‘यसपाली कतैबाट बजेट नभएपछि शिक्षक राख्ने हिम्मत नै भएन।’ विद्यालयको भवन पनि जीर्ण छ। गत साउनमा विद्यालयको खेलमैदान भत्किँदा भवन झन् समेत जोखिम भएको छ। गाउँपालिकामा भत्केको खेलमैदान र पर्खाल पुनः निर्माणका लागि निवेदन दिए पनि बजेटको व्यवस्था गर्ने आश्वासन दिएको व्यवस्थापन समितिले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्