‘शान्तिपूर्ण विरोध र बोल्न पाउने हक हनन गरिनु आपत्तिजनक’



विराटनगर : क्रान्तिकारी पत्रकार संगठन नेपालले विराटनगरमा बिहीबार मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयमा अन्तक्र्रिया गरेको छ । कार्यक्रममा संविधानमाथि उल्लेख भएका मौलिक अधिकारबारे बोल्दै वक्ताहरुले यसलाई व्यवहारमा लागू गर्न जोड दिएका छन् । 

लोकतान्त्रिक राज्यमा मौलिक अधिकार प्राप्त संविधान निर्माण भएर कार्यान्यनमा आइसकेकोले राजनीतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र विचार अभिव्यक्तिको स्वतन्त्रता हनन भएको उनीहरुको धारणा थियो । 

 

नेपालले मानवअधिकार पक्षका १८ वटा अभिसन्धिमा हस्ताक्षर गरिसकेको र लोकतान्त्रिक सरकारले त्यसलाई पालना गर्नु अनिवार्य भएको उनीहरुले बताए । तर, यसमा राज्य उदासीन भएको उनीहरुले गुनासो गरेका थिए । 

 

आस्थाकै आधारमा नागरिकहरुलाई पक्राउ गरेर जेल हाल्नु, हिरासतमा राख्नु र यातना दिनु विश्वव्यापी मानवअधिकारको घोषणाविपरीत भएको क्रान्तिकारी पत्रकार संघका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताए । 

 

सत्तामा गएपछि आस्थाको आधारमा नागरिकलाई पक्राउ गर्ने राज्य काुननी र लोकतान्त्रिक हुन नसक्ने नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले बताए । बिनाहतियार स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने र आफ्नो विचार राख्ने अधिकार सबै नागरिकलाई भएकोले संविधानअनुसार मानवअधिकारको पालना गर्नु राज्य र सरकारको दायित्व हुने उनले बताए । 

पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले संविधानको हक उपभोग गर्न पाउनु सबैको अधिकार भएको जिकिर गरे । नैतिक मूल्य मान्यता बोकेर आवाज विहीनहरुको आवाज बोल्ने पत्रकारहरुलाई कुष्ठित भएकोप्रति आपत्ति जनाए । 

 

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक मोहनदेव जोशीले विचारकै आधारमा दुःख दिने परिपाटीको अन्त गराउनुपर्नेमा जोड दिए । उनले भने, ‘ लोकतान्त्रिक राज्यको असल चरित्र हुन्छ । राज्यले चरित्र निर्माणमा ध्यान दिनुपर्छ ।’ 

 

नेकपा मोरङ संयोजक ऋषि पोखरेलले अब विद्रोही बनेर अलग्गै अस्तित्व खोज्नुभन्दा पनि सबैले न्याय र समानताका लागि पहल गर्नुपर्नेमा जोड दिए । पूर्व माओवादी प्रदेश संयोजक विमल निरौलाले फरक आस्था राख्ने पार्टीको कार्यकर्ता भएकै कारण नागरिकहरुलाई पटक पटक पक्राउ गरेर जेल र हिरासतमा राखिरहनु संवैधानिक राज्यको खिल्ली उडाउने शिवाय केही नभएको बताए । उनले आस्था राखेकै कारण नागरिकहरुले यातना पाइरहँदा पत्रकारले पनि चुप लागेर बस्न नहुने बताए । 

 

अखिल नेपाल शिक्षक संगठन (क्रान्तिकारी) का केन्द्रीय महासचिव विकास न्यौपानेले  अस्थाकै कारण राज्यले नागरिकलाई पक्राउ गर्नु र जेल हाल्ने कार्य गर्नु पुरानो राज्य सत्ताको चरित्र भएको बताए ।

 

लोकतान्त्रिक राज्यमा शान्तिपूर्ण विरोध गर्न पाउने र बोल्न पाउने सुरक्षित हक हनन गरिनु आपत्तिजनक कार्य भएको बताए । क्रान्तिकारी पत्रकार संगठनले गत असोज २ गतेदेखि प्रदेश ५ को दाङबाट मानवअधिकार र प्रेस स्वतन्त्रका लागि देशव्यापी अभियान थालेको हो । 

प्रतिक्रिया दिनुहोस्