नयाँ आकर्षणको अर्थ



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणनाको प्रारम्भिक रुझानले परम्परागत दलप्रति यस पटक तुलनात्मक रूपमा आकर्षण घटेको देखिँदै छ। शहरी क्षेत्रका मतदातामा नयाँप्रतिको आकर्षण बढी देखिनुका पछि विभिन्न कारण छन् । तर, मत पेटिकामा यसको असर देखिनुका पछि भने नयाँभन्दा पुराना दल अवश्य जिम्मेवार छन्।

पटकपटक भनिँदै आएको विषय के हो भने, लामो समयदेखि रजगज गर्दै आएका दलमा ‘ह्याकुलाले मिचिन्छ’ भन्ने मनोविज्ञान नै उनीहरूको अधोगतिको मुख्य कारण भने अवश्य हो। यस निर्वाचनपछि सरकार कस्तो बन्छ भन्ने आकार आई नसके पनि जनताले के खोजिरहेका छन् भन्ने आकार भने आइसकेको छ।

नयाँ मतदाताले नयाँ शक्तिको खोजी गरिरहेको सङ्केत यस निर्वाचनमा मात्र होइन, यसअघिका विभिन्न नागरिक आन्दोलनहरूमा पनि देखिएकै हो। ‘अकुपाई बालुवाटार’ होस् या गुठी विधेयकविरुद्धको आन्दोलन, डा. गोविन्द केसीको अनशन होस् या जघन्य अपराधमा संलग्नलाई कारबाही गर्न शहरमा देखिएका मानिस। सबैले परिवर्तनको पक्षमा वकालत नै गरे । तर, चुनावमा परम्परागत दलहरूले यो शक्तिलाई कमजोर आँकलन गरे । अर्थात् हामीले भनेपछि मान्छन् भन्ने भ्रम पाले ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदाउँदो ‘क्रेज’देखि लिएर काठमाडौंसहित देशभरका शहरी क्षेत्रमा स्वतन्त्रमा देखिएको लहरले वर्तमान राजनीतिक नेतृत्व र नेताप्रति वितृष्णा प्रदर्शन गरिरहेको प्रष्ट सङ्केत मिल्छ। दलहरूले भने यसलाई बेवास्ता गरिरहे ।

युवाप्रतिको आकर्षण र भरोसासँगै नयाँ शक्तिबाट जनताले अपेक्षा गरिरहेका छन् । तर, यो अपेक्षा चुनौतीरहित भने रहेन । हिजोका दिनमा वैकल्पिक शक्ति भन्दै उदाएका रवीन्द्र मिश्रको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशदेखि लिएर अघिल्लो चुनावमा भर्भराउँदा विवेकशील र साझा पार्टी ५ वर्षमै धुलिसात् पनि भएका छन्।

युवा जोशसहितका नयाँ भनिएका दलले आफूलाई व्यवस्थित गर्दै लगेनन् र राजनीतिक चेतनाले भरिपूर्ण बनाउँदै जनअपेक्षा पूरा गरेनन् भने अर्को निर्वाचनमा जनताले भोट हाल्ने विकल्प नभेट्ने अवस्था पनि आउन सक्छ।

प्रारम्भिक मत रुझानबाट हौसिएका नयाँ शक्तिले आफूलाई साङ्गठनिक स्वरूप र अनुशासनमा बाँध्न सक्नुपर्छ । उदाउँदा शक्तिमा व्यक्ति देखाएर मत माग्ने परम्पराको निरन्तरता भयो भने जनअपेक्षा फेरि पूरा हुँदैन। यी चुनौतीलाई व्यवस्थापन गरे भने परम्परागत दलहरू कि सच्चिन्छन् कि सकिन्छन्। कुरो यत्ति हो !

प्रतिक्रिया दिनुहोस्