सम्झौताको १ वर्षपछि आउने भयो रासायनिक मल



काठमाडौं । नेपाल-भारत सरकार-सरकारबीच (जीटुजी) सम्झौताको भएको करिब १ वर्षपछि अब रासायनिक मल आउने भएको छ । बर्सेनि धान बालीलाई रासायनिक मलको हाहाकार हुन थालेपछि सरकारले किसानलाई सहज रूपमा रासायनिक मल आपूर्तिका लागि भारत सरकारसँग गत १६ फागुनमा जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने सम्भौता गरेको थियो ।

नेपाल सरकारले भारत सरकारसँग ५ वर्षका लागि जीटुजीमार्फत करिब १० लाख मेट्रिक टन मल आयात गर्न सम्झौता गरेको थियो । उक्त सम्झौतामार्फतको ३० हजार मेट्रिक टनका यही मङ्सिर तेस्रो सातासम्म आइपुग्न लागेको हो । कृषि सामग्री कम्पनी लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले ३० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि ३ अर्ब २५ करोड रुपैयाँ भारत सरकारलाई पठाइसकेको जानकारी दिए ।

कामु प्रबन्ध सञ्चालक कार्कीले जीटुजी प्रक्रियाबाट पहिलो पटक मल खरिद गरेको हुँदा ढिलाइ भएको बताए । दुवै पक्षको जीटुजी प्रक्रियाबाट मल खरिद सम्झौता पहिलो पटक भएको हुँदा कानुनी जटिलताका कारण समयमा मल ल्याउन ढिलाइ भएको उनको भनाइ छ । पहिलो चरणको मल खरिद प्रक्रियामा कानुनी जटिलता आए पनि अन्य पटकमा जीटुजी मल खरिद गर्दा कुनै समस्या नहुने उनले बताए । कार्कीका अनुसार यस वर्षका लागि जीटुजीमार्फत खरिद गर्ने मल ८० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डीएपी बाँकी छ ।

उनले जीटुजी र ग्लोबल टेन्डरबाट खरिद गरेको मल बाटोमा आइरहेको हुँदा गहुँ बालीमा मलको कुनै समस्या नहुने उनले बताए । हाल कृषि सामग्रीमा डीएपी २२ हजार ६०० मेट्रिक टन, युरिया ३० हजार टन र पोटास ४ हजार मेट्रिक टन मौज्दात रहेको उनले बताए । सम्झौतामा पहिलो वर्ष युरिया १ लाख मेट्रिक टन र डीएपी ५० हजार मेट्रिक टन खरिद गर्ने सम्झौता थियो । दोस्रो वर्ष सन् २०२२-०२३ का लागि युरिया १ लाख १० हजार मेट्रिक टन र डीएपी ६० हजार मेट्रिक टन गरी १ लाख ७० हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता थियो ।

यस्तै, सन् २०२३-०२४ का लागि युरिया १ लाख १५ हजार मेट्रिक टन र डीएपी ८० हजार मेट्रिक टन गरी १ लाख ९५ हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता थियो । सन् २०२४-०२५ का लागि १ लाख २० हजार मेट्रिक टन युरिया र डीएपी ९० हजार मेट्रिक टन गरी २ लाख १० हजार मेट्रिक टन खरिद गर्ने सम्झौता भएको थियो । । यसैगरी सन् २०२५-०२६ का लागि युरिया १ लाख २० हजार र डीएपी ९० हजार मेट्रिक टन गरी २ लाख १० हजार रासायनिक मल खरिदका लागि सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्