पर्सा १ मा पूर्व मन्त्री यादव इतिहास रच्दै पुनः निर्वाचित



वीरगञ्ज । पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादव आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई १ हजार ६ सय २० मतले पराजित गर्दै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका यादवले पर्सा-१ मा नयाँ इतिहास पनि रचेका छन् । यस क्षेत्रमा २०४६ सालपछि दोहोरिएर निर्वाचित हुने उनि पहिलो सांसद् बनेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा सोमबारदेखि जारी मतगणनाको अन्तिम परिणाम आउँदा यादवले २२ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । त्यस्तै राप्रपाका किरण मान डंगोलले २ हजार ६ सय ५९ मत ल्याएका छन् भने पाँच दलीय गठबन्धनको साझा उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । कर्णले मात्र १ हजार १ सय १७ मत प्राप्त गरेका छन् ।

द्विवेदी कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई नै सहयोग गर्न कांग्रेसले लक्ष्मणलाल कर्णसँग धोका गरेको कर्णको मतपरिणामले बताउँछ ।

यादव यसअघि २०७४ को निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । त्यसबेला उनले नेपाली कांग्रेसका अनिल रुङ्टालाई ४ हजार ६ सय ५१ मतले पराजित गरेका थिए । रुंगटाले १६ हजार ४ सय ८१ म्त ल्याउँदा यादव २१ हजार १ सय ३२ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्