सँगै पढ्ने साथीबाट एल्जीनाको बलात्कारपछि हत्या भएको पुष्टि



उदयपुर : उदयपुरको लाफागाउँमा ६ दिनअघि मृत भेटिएकी बालिकालाई आफ्नै सहपाठीले बलात्कार गरी हत्या गरेको खुलेको छ ।

रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी १३ वर्षीया एल्जीना खड्कालाई एउटै कक्षामा पढ्ने सहपाठी १५ वर्षीय र गाउँका अर्का १८ वर्षीय किशोरले बलात्कार गरी हत्या गरेको निश्कर्ष प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी घट्नामा संलग्न अभियुक्तमध्येका १५ वर्षीय दीपेन्द्र राई मावि रसुवा लाफागाउँको कक्षा ९ मा एल्जीनासँगै पढ्ने सहपाठी भएको जानकारी दिएको छ । 

बाख्रा चराउन गएकी एल्जीनालाई बलात्कार गरी हत्यामा संलग्न अर्का १८ वर्षीय पदमवीर राई एल्जीनाकै छिमेकी रहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । लासको पोष्टमार्टम रिपोर्टले पनि बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको राईले बताएका छन् ।

भाईटीकाको भोलिपल्ट २४ गते बाख्रा चराउन नजिकैको जंगल गएकी एल्जीना साँझ नफर्केपछि खोज्दै जाँदा भोलिपल्ट दिउँसो घरभन्दा ७ सय मिटर टाढा अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् । 

मुखमा नेप्कीन पेपर कोचिएको, कुर्ता सुरुवाल फुकालेको, शरिरका बिभिन्न भागमा घाउचोट लागेको तथा घाँटीमा नङ्ग्राले कोतरेको अवस्थामा मृत भेटिएकी एल्जीनालाई किशोरद्वयले बलात्कार गरी हत्या गरेको ठहर भएको प्रहरी भनाई छ ।

हत्या आशंकामा छिमेकी ५ जनालाई २५ गते र थप १ जनालाई २६ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । उनीहरूमध्ये आफुसँगै पढ्ने सहपाठीसहित २ जना दोषी ठहरिएका हुन् ।

‘एल्जीनालाई सँगै पढ्ने साथी र छिमेकी मिलेर सुरुमा बल प्रयोग गरेर लडाएछन्’ अपराधीको बयान एसपी राईले पत्रकारलाई सुनाए ‘त्यसपछि बलात्कार गरी घाँटी थिचेर हत्या गरेछन् ।’

पोष्टमार्टम रिपोर्टले यो कुरा प्रमाणित गरिसकेको र दुवै दोषीले पनि आफ्नो अपराध स्वीकारिसकेको राईले बताए । 

बालिका हत्याको घट्ना जघन्य अपराध भएकाले प्रहरीले संवेदनशिल मान्दै तत्काल घट्नास्थलमा डिएसपी अर्जुन रानाभाड नेतृत्वको टोली परिचालन गरेको थियो । अनुसन्धानबाट सोँचेभन्दा छिटो नतिजा हात पार्न प्रहरी सफल भएको एसपी राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्