काठमाडौं- ७ मा घण्टीले पायो समानुपातिकमा सबैभन्दा धेरै मत



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत प्राप्त गरेको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार चार सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए।

यो क्षेत्रमा एमाले समानुपातिक मतमा दोस्रो भएको छ। एमालेले चार हजार चार सय ६६, नेपाली कांग्रेसले तीन हजार सात सय १०, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र माओवादी केन्द्रले एक हजार एक सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए। काठमाडौंको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो।

६१ हजार दुई सय ९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कूल २६ हजार चार सय १७ मत खसेकोमा २५ हजार दुई सय १९ मत सदर र एक हजार एक सय ९८ मत बदर भएको छ। सो क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्