काठमाडौं : सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर अञ्जान शाक्यलाई नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।
यही कार्तिक २५ गते बसेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी गराए । राप्रपाका नेता थापालाई प्रचण्डको प्रधानमन्त्रीकालमा राजदूत नियुक्त गरिएको थियो । त्यस्तैगरी अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ ।
उनीहरुलाई तीन साताको म्याद दिइएको छ । सरकारले त्यही दिन भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको छ ।
सरकारले पूर्व राजा स्व विरेन्द्र वीरविक्रम शाहको नाममा रहेको विभिन्न जग्गा नेपाल ट्रस्टअन्तरगत ल्याएको छ । बास्कोटाका अनुसार तत्कालीन राजाको मृत्युहुँदाका बखत उनका नाममा रहेका जग्गाहरु नेपाल ट्रस्टको नाममा ल्याइएको हो ।
निर्णयअनुसार गोकर्णमा रहेको ७० रोपनी ९ आना, कमलादीमा रहेको १४ आना र मध्यपुर थिमीमा रहेकोसमेत गरी ७१ रोपनी जग्गा ट्रस्टका नाममा ल्याइएको हो ।
साथै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।